संघीय गठबन्धनले शुक्रबार भक्तपुरको मध्यपुर थिमीमा विरोधसभा गरेको छ। संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शंखधर साख्वा चोकमा निकालिएको र्याली सरकारविरुद्ध नाराबाजी एवं प्रदर्शन गर्दै मध्यपुर ठिमी पुगेर विरोधसभामा परिणत भएको थियो।
विरोध सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरे। संविधान पुनर्लेखनका लागि १४ दिनेदेखि राजधानीकेन्द्रित आन्दोलन गरिररहेको छ। गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले राज्यको विभेदकारी चरित्रविरुद्ध नेवार समुदाय उठ्न थालेको दाबी गरे। ‘इतिहास साक्षी छ, यहाँका रैथाने नेवारको सहभागिताबिना काठमाडौंको सत्ता र व्यवस्था कहिल्यै फेरिएन,’ श्रेष्ठले भने, ‘मधेस, लिम्बूवान, मगरात, खसान, खम्बूवान सबै उठिसके, अब अन्तिम युद्धका लागि नेवार समुदाय उठ्दैछ।’
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष समेत रहेका गठबन्धन नेता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारको कुर्सीभन्दा घरको बेडमा विश्राम चाहिएको बताए। ‘एक घन्टा काम गर्दा चार घन्टा विश्राम गर्ने प्रधानमन्त्रीले कुर्सीको मोह त्यागेर घरमा विश्राम गर्न गए हुन्छ,’ श्रेष्ठले भने।
त्यस्तै, गठबन्धनका अर्का नेता अर्जुन थापाले घरेलु समस्या र विदेशी कूटनीतिको व्यवस्थापन दुबैमा प्रधानमन्त्री ओली विफल भएको टिप्पणी गरेका छन्। थिमीको विरोध सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालको विदेश विभाग प्रमुख समेत रहेका नेता थापाले भने, ‘देशमा मात्र होइन, विदेशमा समेत नेपालको इज्जत र प्रतिष्ठालाई ओलीले बिगारिसके। अहिलेसम्मकै सरकारको यो कूटनीतिक बिफलता हो।’