नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतका कारण मुलुकको राष्ट्रियता सबैभन्दा बढी खतरामा परेको बताएका छन्। उनले नेपालको तराईलाई टुक्राउन भारतले योजनावद्व षडयन्त्र गरेकाले मुलुकको राष्ट्रियता इतिहास मै खतरामा परेको दावी गरे।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले अंग्रेजपछि राष्ट्रियता सबैभन्दा बढी खतरामा रहेको बताएका हुन्।
विश्व युद्वताका अंग्रेज साशकबाट र अहिले छिमेकी राष्ट्र भारतका कारण नेपालको राष्ट्रियता र गणतन्त्र खतरामा परेको उनको भनाई थियो। नेपालको तराईलाई भारतमा गाभ्ने षडयन्त्रलाई असफल बनाउन राष्ट्रबादी शक्ति सचेत हुनुपर्ने बताउंदै सिंहले राजनीतिक दलका नेताहरुको दलाली र सत्ता मोहको कमजोरीले भारत बलियो बनेको बताए।
‘नेपालका राजनितिक दलका नेताहरु राष्ट्रबादी नभएकाले उनिहरुको कमजोरीको फाईदा लिएर भारतले नेपालको तराई भुभाग र पानीमा आंखा लगाएको कारण राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्र नै खतरामा परेको छ,’ नेता सिंहको तर्क थियो।
भारतले तराईलाई नेपालबाट अलग गराउन मधेशबादी दलहरुलाई प्रयोग गरेको उल्लेख गर्दै उनले सुगौली सन्धि गरेर नेपालको केहि भाग भारतमा गाभेजस्तै अहिले भारतीय पक्ष तराई अलग गराउने गरी लागि परेको आरोप लगाए।
संसदमा बहुमत पुर्याउनका लागि मधेशबादी दलले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र नागरिकतामा समान अधिकारको कुरा उठाएको नेता सिंघले टिप्पणी गरे।
आमाको नामबाट नागरिकता दिनु महिला अधिकारको दृष्टिले ठीक भएपनि आमा वुबा मध्ये एक जना गैर नेपाली भएको खण्डमा आमा बुबा अनिवार्य हुनुपर्ने नेता सिंहको तर्क छ।
नेता सिंहले चीनसंग सम्झौता गरी भारतको दवावलाई अस्वीकार गरेर तुलनात्मक रुपमा वर्तमान सरकारले राम्रो काम गरेपनि नागरिकताको विषयमा खुकुलो प्रावधान ल्याएर सरकारले राष्ट्रियताको मुद्वामा अडिन नसकेको बताए।
सरकारले ल्याएको नागरिकता सम्बन्धी खुकुलो नीति तथा प्रावधानले गैर नेपालीले सहज रुपमा नेपाली नागरिकता पाउन सक्ने उनको भनाई थियो। नेपाली कम्युनिष्ट आन्दोलनका पाका नेताको रुपमा चिनिने नेता सिंहले माओवादी घटकहरुको एकतालाई सिद्वान्तहिन एकता भएको टिप्पणी गरेका छन्।
आत्म सुरक्षाका लागि एकता गरिएको टिप्णी गर्दै उनले नीति सिद्वान्त एकता नभईकन भएको एकताले कम्युनिष्ट आन्दोलनमा अर्थ र महत्व नरहने स्पष्ट पारे।
द्धन्द्धकालिन मुद्धा युद्धका बेलामा भएको फिर्ता हुनुपर्ने भएपनि निर्दोष सर्वसाधरणमाथि गरिएको अन्यायको छानबिन भई कारवाही हुनुपर्ने आफुहरुको मान्यता रहेको नेता सिंहको तर्क छ।
प्रगतीशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता तथा सचिव डिआर संघारको सञ्चालनमा कार्यक्रम भएको थियो।