मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट अधिकांश नेता प्रचण्ड माओवादीमा पुगेपछि नेता सिपी गजुरेलले देश दौडाहा सुरू गरेका छन्। मंगलबार सिरहाको लहान आइपुगेका उनले प्रचण्ड र पार्टी छाडेर गएका रामबहादुर थापा ‘बादल' लगायतका नेताहरुमाथि आक्रोश पोखे। ‘प्रचण्डको हरियो घाँसले बादल लगायतका नेताहरुलाई तान्यो। उनीहरू लोभमा परेर प्रचण्ड समक्ष आत्मसमर्पण गरे,’ उनले भने, ‘तुफानले पात पतिंगरलाई उडाएपछि हामीलाई राम्रै भयो। पार्टी शुद्धिकरण भयो। अब हामी धातुहरु बचेकै छौं।’
बिप्लव र बादल बाहिरिएपछि पार्टी कमजोर भएको उनले स्वीकार गरे। उनले पात पतिंगरहरु बाहिर भयो तर हामी धातुहरू बाँचेकै कारण पार्टीलाई पुरानो अवस्थामा फर्काउन समय नलाग्ने दावी गरे। ‘पात पतिंगरको काम पनि थिएन त्यसैले उडेर जाँदा पनि फरक पर्दैन्,’ उनले थपे।
बादल गए पनि मधेसी जनताको विश्वास पात्र मातृका प्रसाद यादब पनि प्रचण्ड समक्ष आत्मसमर्पण गर्दा दुःख लागेको नेता गजुरेलले बताए। उनले भने, ‘मधेसी जनताको विश्वास थियो मातृकामाथि। तर मातृका पनि प्रचण्डको हरियो घाँसको लोभमा फस्नुभयो।’
मातृकाले कसरी जताको एजेण्डा छाडे भन्ने प्रश्नमा नेता गजुरेलले भने–‘प्रचण्ड विवादित संविधानलाई संसारकै उत्कृष्ट भन्छन्। तर उनै प्रचण्डसँग मातृका पार्टी एकता गरेपछि अब त मातृका पनि त्यो संविधानलाई मानेको हुनुपर्छ। अब भन्नुस्– कसरी छाडेन् मधेसी जनताको एजेण्डा?’
विप्लवसँग एकता नभए कार्यगत एकता
नेक्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकता हुने सम्भावना बलियो रहेको नेता गजुरेलले बताए। विप्लवको केही एजेण्डामा मात्र असहमति रहेको बताउँदै उनले साझा धारणा बनाएर पार्टी एकता गर्न सकिने बताए। उनले भने,‘विप्लवको धेरै मुद्दा हामीसँग मिल्छ। त्यसैले पार्टी एकता नभए पनि कार्यगत एकता गरी अघि बढ्छौं।’
मधेसवादी दलहरु कार्यगत एकता गर्न चाहेनन्
नेता गजुरेलले हामीसँग मधेसीवादी दलहरुले नै कार्यगत एकता गर्न डराएको आरोप लगाएका छन्। उनले भने, ‘हामी कार्यगत एकता गरी मधेसी र जनजातीको अधिकारका लागि लड्न चाहन्छौं। तर मधेसवादी दलहरु कार्यगत एकता गर्न डराउँछन्।’
मधेसवादी दलहरु किन कार्यगत एकता गर्न डराइरहेको कुरा भने थाहा नभएको उनको भनाई छ। उनले कार्यगत एकता गर्न अहिले पनि तयार रहेको बताए। उनले भने, ‘काठमाडौंमा जारी मधेसी आन्दोलनमा अहिले पनि हाम्रो जनजाती साथीहरु खटिरहेका छन्।’
मंसिरमा स्थानीय निकायको निर्वाचन नहुने
मंसिरमा स्थानीय निकायको निर्वाचन जसरी गराउने आवाज उठिरहेका बेला नेता गजुरेलले चुनाव गराउन असम्भव रहेको बताएका छन्। उनले सीमांकनको विवाद सुल्झाउन नसकेसम्म स्थानीय निकायको चुनाव हुन नसक्ने उनले ठोकुवा गरे। उनले भने, ‘अहिले सबभन्दा ठूलो विवाद नै सीमांकन हो। त्यसैले यसको समाधान नगरी चुनाव सम्भव छैन्।’