सरकारले आगामी संसदमा पेश गर्ने आर्थिक वर्ष २०७३÷०७४ को विनियोजन विधेयक तयारीबारे प्री बजेट छलफल शुरु भएको छ। संसदको शुक्रबारको बैठकमा सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्न समय दिइन्।
प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै कांग्रेस सांसद जीवन परियारले न्यून आर्थिक वृद्धिदर भएको अवस्थामा सरकारले अत्यन्त महत्वाकांक्षी बजेट ल्याउने तयारी गरिरहेको बताए।
परियारले उत्पादनमुखी बजेट तयार गरेर लगानीमैत्री वातावरण निर्माण गर्नु पर्ने बताए। सामाजिक सुरक्षाको खर्चको व्यवस्थित वितरण हुन सकेन भने त्यसबाट लक्ष्य हासिल हुन नसक्ने धारणा राखे।
एमाले सांसद माधवकुमार नेपालले अर्थमन्त्रीले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकता सकारात्मक देखिएको भन्दै त्यसले मुलुकको अर्थतन्त्रमा आशालाग्दो सुधार आउने अपेक्षा जगाएको छ।
यो बजेटले वायुपंखी घोडाको गतिमा निश्चित समयमा राम्रो सुधार ल्याउन सक्ने नेपालले बताए। उनले बजेटमा विकासका पूर्वसर्तका रुपमा सडक, विदुत र संचारमा महत्व दिएर अगाडि बढेमात्रै विकासमा गति दिन सकिने बताए।
एमाओवादीका सांसद डोरप्रसाद उपाध्यायले सरकारले बजेट निर्माण गर्दा समग्र मुलुकको आर्थिक विकासका लागि औद्योगिक क्षेत्रदेखि विपन्न किसानको हितमा केन्द्रीत गरी अगाडि बढ्नु पर्ने बताए।