आन्दोलनरत मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका सांसदहरूले आफ्ना माग सम्बोधनबारे सरकार गम्भीर नभएको भन्दै शुक्रबारको संसद बैठक बहिष्कार गरेका छन्।
सभामुख ओनसरी घर्तिमगरले संसद बैठक शुरू गर्नासाथ संघीय समाजवादी फोरम, तमलोपा, सदभावना लगायत गठबन्धनमा भएका ७ दलका सांसदहरु उभिएर विरोध जनाएका थिए।
त्यसपछि सभामुखले संघीय समाजवादी फोरमका नेता अशोक राईलाई बोल्न समय दिइन्।
संसदमा बोल्दै राईले आन्दोलनरत दलहरूले उठाएका जायज मागबारे सरकार मौन रहेकाले आजको संसदको कारबाहीमा आफ्नो पार्टीसहित सबै आन्दोलनरत दलहरूले बहिष्कार गरेको घोषणा गरे।
संविधानका कतिपय विषयमा गम्भीर असहमति जनाउँदै आन्दोलनमा उत्रेका ५८ जना नागरिकहरुमाथि सरकारले गोली चलाएर हत्या गरेको आरोप राईको थियो।
‘कैयन घाइते भएका छन् र अझै पनि झुठा मुद्दा लगाएर जेलमा राखिएको छ। आन्दोलनरत पक्षले संविधान पुर्नलेखन तथा संशोधन गर्न माग गर्दै आन्दोलनको निरन्तरता दिँदै आएको छ। जस्ताको तस्तै कार्यान्वयनमा लैजान सकिदैन भन्ने हाम्रो माग हो,’ राईले भने, ‘अहिले पनि भूकम्प पीडितहरुको अवस्था अझै दयनीय छ। वर्षा र जाडोबाट बचेका पीडितहरु हावाहुरीले पाल उडाएर बेहाल अवस्थामा छन्। मुलुकमा भ्रष्टाचार र कालोबजारी व्याप्त छ। तर पनि सरकार मुकदर्शक बनेर बसेको छ।