ग्रामीण रुटमा सिण्डिकेट लाद्दै आएको यातायात ब्यबसायी समिति गोरखा र सिण्डिकेटको खुलेर समर्थन गर्दै आएको पृथ्वीराजमार्ग बस संचालक समितिले गोरखामा आज पनि यातायात बन्द गराएका छन्। आरुघाट प्रालिको बस तोडफोडमा संलग्न रहेका आफ्ना ब्यबसायी तथा युवालाई प्रहरीले बिना शर्त रिहाइ गर्नुपर्ने माग राख्दै समितिले हिजोदेखि यातायात ठप्प बनाएको हो ।
आरुघाट प्रालिले २१ वैशाखबाट संचालनमा ल्याएको यात्रुबहाक बस तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले समिति आबद्ध २३ जना ब्यबसायी बिरुद्ध सार्वजानिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेर प्रहरीले कारबाही सुरु गरेको छ।
घरेलु हतियारसहित जंगलमा लुकेर बसेका समितिका ब्यबसायी, मजदुर र युवाहरुले आरुघाट प्रालिको यात्रुबहाक बसमा ढुङ्गामुढा गरेका थिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय आरुघाट तोडफोडमा संलग्न रहेको र दुई जना प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले आरुघाट क्षेत्रका पाँच जना युवालाई पनि पक्राउ गरी सार्वजानिक अपराध अन्र्तगत मुद्दा दर्ता गरेर कारबाही सुरु गरेको छ । गोरखाको ३५ भन्दा बढी ग्रामीण रुटमा यातायात ब्यबसायी समिति गोरखाले बि.सं. २०५८ सालदेखि एकलौटी बस संचालन गर्दै आएपनि पछिल्लो समय आरुघाट प्रालिले पनि बस संचालन गर्न सुरु गरेपछि बिबाद बढेको हो ।
आरुघाट यायातात प्रालिले बस संचालनमा ल्याएपछि ब्यबसायी बीचको झगडामा यात्रु र स्थानीयबासी परेका छन् । ग्रामीण रुट र गोरखा बजार भएर अन्यत्र छुट्ने सवारी नछुट्दा यात्रुलाई सास्ती भएको छ । चर्को घाममा यात्रुहरु हिडेरै गन्तब्यमा पुग्न बाध्य छन् । मोटरसाइकल, नीजि सवारी साधन, एम्बुलेन्स, दूध बोक्ने गाडीहरु भने निर्वाध रुपमा संचालनमा आएको छ ।
यसैबीच गोरखाको दोस्रो ब्यापारिक केन्द्र आरुघाट बजार क्षेत्रमा बिगत १६ दिनदेखि यातायात ठप्प छ । यातायात ब्यबसायी समिति गोरखाको बस आरुघाट जान नदिने र आरुघाट प्रालिको बस सदरमुकाम आउन नदिने गर्दा यात्रुहरु हिडेरै गन्तब्यमा जानुपरेको हो । दुवै समितिका पदाधिकारीले संयुक्त बिज्ञप्ति जारी गर्दै आफ्ना ब्यबसायीहरु बिना शर्त रिहाइ नभएसम्म यातायात संचालन नगर्ने जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले हिजोदेखि बन्द रहेको गोरखाको यातायात खुलाउने बिषयमा पहल भैरहेको बताए । गोरखा–आँबुखैरेनी सडकमा अबरोध नभएको भन्दै उनले संचालनमा रहेका सवारीलाई सुरक्षा दिइएको बताए ।
यातायात ब्यबसायी समिति गोरखालाई कांग्रेस, एमाले, एमाओबादी, नेकपा क्रान्तिकारी माओबादी, नयाँ शक्ति नेपाललगायतको समर्थन रहेको छ । यसअघि समितिले सबै दलका स्थानीय पहुँचवाला नेतालाई भागबन्डा गरी गाडी दिएको दिएको थियो । राप्रपा नेपालका जिल्ला सचिव सुदीप ढकालले जारी गरेको बिज्ञप्तिमा यातायातमा देखिएको सिण्डिकेट र झगडाको अन्त्य गर्नेपर्ने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बन्द यातायात खुलाएपछि मात्रै ब्यबसायीसंग थप छलफल गरिने बताए । ‘यातायात बन्द गरेर जनतालाई दुःख दिइरहने हो भने बार्ता गर्नुको अर्थ हुँदैन’ उनले भने । यातायात ब्यबसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले निर्दोष ब्यबसायीलाई प्रहरीले झुठा आरोपमा पक्राउ गरी सार्वजानिक मुद्दा लगाएको भन्दै आपत्ति जनाए ।
उद्योग बाणिज्य संघ गोरखाको पहलमा जिल्ला प्रशासन कार्यालयमा यातायात सुचारु गर्ने सम्बन्धमा हिजो अपरान्ह भएको वार्ता बिना निष्कर्ष सकिएको थियो । यातायात ब्यबसायी र प्रशासनले आफ्ना अडानहरु नछाडेपछि वार्ता निष्कर्षबिहीन भएको हो । बन्द यातायात खुलाउनेबारे आज जिल्ला प्रशासन कार्यालयमा बार्ता हुने भनिएपनि सुरु भएको छैन ।