एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव नभएको जानकारी कांग्रेसलाई दिएका छन्। लाजिम्पाटस्थित निवासमा नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका कांग्रेस सभापति देउवासहितका नेतालाई दाहालले प्रस्तावका लागि कांग्रेसलाई धन्यवाद पनि दिएका छन्।
बिहीबार विहान निवास पुगेका सभापति देउवासहितका नेतालाई दाहालले ‘साथीहरूलाई मनाउन नसकिएको’ र नयाँ सरकार गठनको ‘नियमावलीमा समस्या देखिएको’ भन्दै आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने बताएको बैठकमा उपस्थित कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।
एमाओवादी अध्यक्ष दाहाललाई उद्धृत गर्दै उनले भने, ‘मैले साथीहरूलाई मनाउन सकिनँ, प्रस्तावका लागि तपाईंहरूलाई धन्यवाद, मेरो नेतृत्वमा अहिले सरकार बनाउन सकिएन।’
संसदको नियमावलीमा गम्भीर त्रुटि रहेकोले अविश्वास प्रस्ताव लिएर जान जटिलता देखिएको जिकीर दाहालले गरेको ती नेताले बताए। ‘नियमावलीको अन्योलबीच अविश्वासको प्रस्ताव अघि बढाउँदा सत्तारुढ दलले रोष्ट्रम घेरेर झडप हुनसक्ने अवस्था देखियो,’ दाहाललाई उद्धृत गर्दै उनले भने, ‘त्यसैले बजेटअघि सरकार गठन गर्न अगाडि नबढौं।’
कांग्रेसका ती नेताले एमाओवादीले आफूलाई धोका दिएको पनि आरोप लगाए। बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता विमलेन्द्र निधि र रमेश लेखक थिए।
एमाओवादीका उच्च नेताले सेतोपाटीसँग कुरा गर्दै आफ्नो पार्टीले कांग्रेसलाई धोका नदिएको र अझै पनि पार्टीले अन्तिम निर्णय गरिनसकेको दाबी गरे।
‘नियमावलीमा रहेको त्रुटिका कारण अविश्वासको प्रस्ताव अगाडि बढाउन गम्भीर समस्या देखियो, त्यसलाई कसरी हल गर्ने भन्ने प्रमुख विषय हो,’ उनले भने, ‘कांग्रेस भने सभामुखलाई निर्देशन दिएर पेलेर अगाडि जाने भन्छ, त्यसरी संसदमा ठूलो झडप निम्तिन्छ।’
उनले नियमावलीमा देखिएको यही त्रुटिलाई समातेर एमाले सरकार नछोड्ने बरु सदनमा रोष्ट्रम घेरेर अविश्वासको प्रस्ताव कार्यान्वयन हुन नदिने निर्णयमा पुगेकोले समस्या आएको बताए।
एमाओवादीका नेताले कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न भने कुनै मतभेद नरहेको बताएका छन्।