एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले पार्टीले गरेको निर्णयबारे ओलीलाई अवगत गराएका थिए।
सत्तारुढ ठूलो दलका प्रमुख समेत रहेका प्रचण्ड सरकार परिवर्तन गर्ने विषयमा पार्टीले औपचारिक निर्णय गरेलगत्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री र प्रचण्डबीच भएको भेटवार्तामा प्रचण्डले भने, ‘अबको आवश्यकता भनेको राष्ट्रिय सरकार हो त्यसका लागि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने र त्यसका लागि एमालेले सहयोग गर्नुपर्छ,’ एमाओवादी निकट स्रोतले सेतोपाटीलाई बतायो।
बुधबार बिहानमात्र एकीकृत माओवादीले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने औपचारिक निर्णय गरेको हो।
प्रचण्डको प्रस्तावबारे प्रधानमन्त्रीले पार्टीको बैठकबाट निर्णय लिने बताए।
कांग्रेसको आग्रहमा माओवादी सरकार गठनका लागि अघि बढेपछि बुधबार बिहान बसेको एमाले स्थायी कमिटि बैठकले समेत ओली नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने निर्णय गरेको छ ।