काठमाडौं, वैशाख १६ (सेतोपाटी)- लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति विरुद्ध जारी अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय गिरीशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले अदालत समक्ष कार्कीको नियुक्ति विरुद्ध परेको रिटमा ‘अपरिपक्व आधार र प्रमाणका आधार’ दिइएकाले अहिले नै त्यसमा कुनै आदेश जारी गर्नु पर्ने नभएकाले अन्तरिम आदेश खारेज गरेको निर्णय दिएको हो ।
निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीलाई जनआन्दोलन २०६२/६३ मा भएका ज्यादतिबारे छानबिन गर्न गठित रायमाझी आयोगले दोषी ठहर गरेको र त्यस आधारमा उनलाई अख्तियारको प्रमुखमा नियुक्ति गर्न नहुने जिकिरसहित सर्वोच्चमा रिट हालेका थिए ।