नेपाली काँग्रेस कपिलवस्तुका चारवटै क्षेत्रका असन्तुष्ट नेताहरुले सामूहिकरुपमा जिल्ला सभापतिको कुर्सी र 'नेमप्लेट' जलाउँदै कार्यलयमा तालाबन्दी गरेका छन्।
क्षेत्र र जिल्लाबाट आफ्नो नाम सिफारिस भए पनि पार्टी केन्द्रले टिकट नदिएको भन्दै उनीहरु आगजनी र तालाबन्दीसहित विरोध गरेका हुन्।
क्षेत्र नं २ बाट टिकट नपाएका अत्तहर कमाल, क्षेत्र नं ३ का राजु अर्याल, क्षेत्र नं ४ का दीर्घनारायण पाण्डेय र क्षेत्र नं ५ का मङ्गलप्रसाद गुप्ता पार्टीको संसदीय बोर्डले गरेको निणर्यलाई चुनौती दिँदै भौतिकरुपमै विरोधमा उत्रिएका हुन्।
उम्मेदवार छनोट समावेशी नभएको भन्दै बुधबार कमालको अगुवाइमा लबनीदेखि तौहिलवासम्म विरोध र्यालीसमेत निकालिएको थियो। र्याली लगत्तै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा आयोजना गरी कमालले आफू चुनावमा स्वतन्त्र रुपमा लड्ने घोषणासमेत गरेका थिए।
काँग्रेसमा देखिएको असन्तुष्टी केहि दिनभित्रै स्वतः समाधान हुने बताउदै पार्टी निर्णयमा असन्तुष्ट हुन पाइने तर भौतिकरुपमै आगजनीमा उत्रिनु निन्दनीय रहेको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए।
काँग्रेसबाट कपिलवस्तु क्षेत्र नं १ मा दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा राजेश आचार्य, क्षेत्र नं ३ मा सुधाकर पाण्डे, क्षेत्र नं ४ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं ५ मा वीरेन्द्रकुमार कनौडियाले टिकट पाएका थिए। रासस