राष्ट्रिय जनमोर्चा नेपालले आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा लड्ने उम्मेदवारहरुको नाम घोषणा गरेको छ।
सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फ १४० र समानुपातिकतर्फ १०० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो। घोषित नामावलीमा समानुपातिकतर्फ ५० जना पुरुष र ५० जना महिला रहेका छन्।
पार्टीले प्रत्यक्षतर्फ बागमती अञ्चलबाट १७, महाकालीबाट १८, भेरी–कर्णालीबाट १७, राप्ती–लुम्बिनीबाट ३४, गण्डकी–धौलागिरिबाट १७, नारायणीबाट १७, सगरमाथाबाट ६ र मेची–कोसी अञ्चलबाट १३ जनालाई उम्मेदवार बनाएको छ।
पार्टी अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नं २ बाट (समानुपातिक), उपाध्यक्ष रश्मिराज नेपाली दाङ क्षेत्र नं २ बाट (समानुपातिक) र महासचिव सन्तबहादुर नेपाली अर्घाखाँची १ बाट प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्।
एकातीस जनाको केन्द्रीय सदस्य रहेको सो पार्टीका अधिकांश नेताहरु समानुपातितर्फ उम्मेदवार बनेका छन्। रासस