कांग्रेस उपसभापति रामचन्द्र पौडेलेकोविरुद्धमा तनहुँ क्षेत्र नं २ बाट नेपाल तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उपसभापति पौडेलको क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका गुरुङ आफ्नो प्रत्यक्ष र समानुपातिक तर्फ नपरेपछि बागीको तयारीमा जुटेका हुन्।
बागी तयारीमा जुटेका गुरुङ राजधानीबाट सिधै मंगलबार नै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने कोटा गाविस पुगेका छन्। दक्षिणी क्षेत्रका कोटा ,बैदी, रिसिङ रानीपोखरी लगायतका क्षेत्रबाट सयौ कार्यकर्ता उतारेर बागी उम्मेदवार हाल्ने गुरुङले बताएका छन्।
सदरखोरमा रहेका काग्रेस नेता खुमबहादुर खड्का निकट मानिने गुरुङ खड्काको निर्देशनमा नै बागी हाल्न गृह जिल्ला आएको बुझिएको छ।
यता क्षेत्र नं १ र ३ मा केन्द्रीय सदस्य शंकर भण्डारी र जितप्रकाश आलेलाई टिकट दिने सहमति भएपनि निर्णय हुन नसक्दा अन्यौल कायमै रहेको छ। यसैगरी तनहुँकै क्षेत्र नं ३ बाट प्रत्यक्षको उम्मेदवार बन्ने आशमा रहेका पार्टी सभापति ध्रुब वाग्ले टिकट नपाए पछि वाग्लेका सर्मथकहरु समेत असन्तुष्ट बन्न पुगेका छन्। यथास्थितीमा पौडेललाई कुनै पनि हालतमा सर्मथन गर्न नसकिने वाग्लेका सर्मथकहरुको भनाई छ।
टिकट विषयमा विवाद लम्बिदै जाँदा पार्टी उपसभापति पौडेलको निर्वाचन क्षेत्रमा समेत असर पर्ने हो कि भनेर पौडेलका सर्मथकहरु चिन्तित हुन थालेका हुन्।