आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनको सुरक्षाका लागि हतियार सङ्कलन अभियान थालेको सुर्खेत प्रहरीले अब भने शङ्कास्पद व्यक्तिको घरमा पुगेर हतियार खोजी गर्ने भएको छ। गत भदौ ३१ गतेदेखि सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन अनुरोध गरेको प्रहरीले उक्त अवधिमा हतियार नबुझाउनेहरुको घरमै पुगेर खोजि गर्ने भएको हो।
स्वस्फुर्त हतियार बुझाउन आग्रह गर्दा पनि कतिपयले नबुझाएको भन्दै प्रहरीले अब भने शङ्कास्पद व्यक्तिको घरमा खोजी गरी हतियार सङ्कलन गर्ने बताएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले एक हप्ताको अवधिमा ७२ थान हतियार मात्रै सङ्कलन भएको र अझै सर्वसाधारणसँग हतियार रहेको हुनसक्ने भन्दै खोजी गरिने बताए।
एक हप्ताको अवधिमा सङ्कलन भएका ७२ वटा हतियार प्रहरीले १३ वटा इलाका र चौकीमार्फत सङ्कलन गरेको हो। जिल्लाको पश्चिम विद्यापूर र उत्तरपूर्वमा रहेको अवलचिङमा रहेको इलाकाबाट नौ–नौ वटा, पश्चिमको बाबियाचौर र पूर्वको मालारानीबाट आठ–आठ वटा, पश्चिमकै तातोपानीबाट सात थान, पूर्वको छिन्चुबाट छ थान हतियार सङ्कलन भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। मटेलाबाट चार थान, डाँडाछाप्रेबाट तीन थान, बिजौरा, गुमी र मेहलकुनाबाट दुई–दुई थान र आलिबाट एक थान हतियार सङ्कलन भएको उ जनाए। चार वटा हतियार भने जिल्ला प्रहरी कार्यालयमा नै आएर सर्वसाधारणले बुझाएको प्रहरीले जनाएको छ।