आगामी संविधान सभाको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेले विवादका बाबजुद सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । तर, एकीकृत नेकपा माओवादीले भने विवादका कारण अझै सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
उम्मेदवारी घोषणासँगै काँग्रेसका कुनै कुनै निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुबीच असन्तुष्ठी देखिएको छ । कैलाली क्षेत्र नम्बर १ मा कार्यकर्ताहरु पार्टी उम्मेदवार विरुद्ध उत्रिएका छन् । पार्टीले डाक्टर रणबहादुर रावललाई उम्मेदवारका रुपमा घोषणा गरेको छ । उनीहरुले क्षेत्र नम्बर १ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्षेत्रीय सभापति धिजराज रेग्मीले उम्मेदवारी प्रति असन्तुष्ठी व्यक्त गर्दै केही कार्यकर्ताहरुले तालाबन्दी गरेको बताएका छन् । उनले कुन पक्षका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् भन्ने बारेमा जानकारी नभएको बताए ।
स्रोतका अनुसार धनसिंहपुर, नारायणपुर र मुनुवा गाविसका कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले २०६४ को संविधान सभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तिब्र असन्तुष्ठी व्यक्त गरेको स्रोतले बताएको छ ।
२०४८ सालको आम निर्वाचनमा वियजी भएका पूर्व साँसद गंगबहादुर कुँवरले समेत उम्मेदवारी घोषणा प्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् ।
नेपाली काँग्रेसले कैलालीका अन्य निर्वाचन क्षेत्रमा घोषणा गरेका उम्मेदवारका हकमा भने कुनै विवाद सार्वजनिक भएको छैन ।
नेपाली काँग्रेसले कैलालीको क्षेत्र नम्बर २ मा कमल शाह, क्षेत्र नम्बर ३ मा नारायणदत्त मिश्र, क्षेत्र नम्बर ४ मा खेमराज चौधरी, क्षेत्र नम्बर ५ मा दीर्घराज भाट र क्षेत्र नम्बर ६ मा शेरबहादुर देउवालाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री देउवाले कैलालीको क्षेत्र नम्बर ६ का साथै डडेल्धुराबाट समेत टिकट पाएका छन् ।
टिकट पाउने मध्ये क्षेत्र नम्बर ३ का मिश्र जिल्ला विकास समिति कैलालीका पूर्व सभापति र भाट नेपाली काँग्रेस कैलालीका निवर्तमान सभापति हुन् ।
त्यस्तै काँग्रेसले कञ्चनपुरको क्षेत्र नम्बर १ बाट दिवानसिंह बिष्ट, २ बाट एनपि साउँद, ३ बाट बहादुरसिंह थापा र ४ बाट रमेश लेखकलाई टिकट दिएको छ ।
त्यसैगरी अछामको १ बाट मेघराज खड्का, २ बाट बलबहादुर कुँवर (ढकारी), डोटीको १ बाट विरबहादुर बलायर, २ बाट योगेन्द्र शाही, बैतडीको १ बाट नरबहादुर बम, २ बाट लोकराज अवस्थीले टिकट पाएका छन् ।
त्यस्तै बझाङको १ बाट अर्जुनबहादुर सिंह, २ बाट नरेशबहादुर सिहं, दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु र बाजुराबाट मानबहादुर रावल रहेका छन् ।
त्यस्तै, लामो समयको गृहकार्य पश्चात नेकपा एमालेले पनि सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली घोषणा गरेको छ ।
कैलाली क्षेत्र नम्बर ३ र ४ को विवादका कारण नेकपा एमालेले उम्मेदवारको नामावली घोषणामा ढिलाई गरेको स्रोतले बताएको छ ।
एमालेले क्षेत्र नम्बर ३ मा रतन रेग्मीलाई पाखा लगाएर चन्द्रिकाप्रसाद चौधरीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । रेग्मी एमाले राष्ट्रिय परिषद सदस्य हुन् भने चौधरी एमाले कैलाली क्षेत्रीय कमिटीका सहसचिव हुन् । रेग्मीलाई क्षेत्र, जिल्ला र अञ्चलले सिफारिस गरेको थियो । तर पार्टी केन्द्रले चौधरीलाई उम्मेदवार बनाएको छ ।
रेग्मीले उम्मेदवारी प्रति आपत्ति जनाएका छन् । उनले पार्टीले एकलौटी रुपमा सिफारिस गरेको निर्णयलाई केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
त्यस्तै कैलालीको क्षेत्र नम्बर ४ मा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई पार्टीले संविधान सभा निर्वाचनमा अघि सारेको छ । क्षेत्र नम्बर ४ को उम्मेदवारका आकांक्षी चुनराम चौधरीलाई पार्टीले पाखा लगाएको हो ।
त्यस्तै एमालेले कैलालीको क्षेत्र नम्बर १ बाट प्रेम साउँद, २ बाट मोहनसिंह राठौर, ५ बाट पदम सिंगाल र ६ बाट महेश्वर पाठकलाई संविधान सभा निर्वाचनको मैदानमा उतारेको छ ।
साउँद एमाले कैलालीका पूराना कार्यकर्ता हुन् । राठौर पूर्व शिक्षा राज्यमन्त्री हुन् भने पाठक २०५१ सालको निर्वाचनका विजयी साँसद हुन् । पाठक हाल एमाले सेती अञ्चल कमिटीका सचिव पनि हुन् ।
त्यस्तै एमालेले कञ्चनपुरमा १ बाट लालबहादुर विक, २ बाट तारा लामा, ३ बाट नरबहादुर धामी र ४ बाट उर्वादत्त पन्तलाई टिकट दिएको छ । पन्त पूर्व मन्त्री समेत हुन् ।
अछाम १ बाट पूर्व गृहमन्त्री भीम रावललाई पार्टीले उम्मेदवारको रुपमा अघि सारेको छ भने २ बाट भरत साउँद अघि सारिएका छन् ।
त्यसैगरी डोटीमा १ बाट नारद मलासी र २ बाट प्रेम आले मैदानमा उत्रिएका छन् । आलेले २०६४ सालको संविधान सभा निर्वाचनमा झिनो मतले पराजय भोग्नु परेको थियो ।
बझाङ १ बाट मानप्रसाद खत्री, २ बाट लालबहादुर रावल, बैतडीको १ बाट दामोदर भण्डारी र २ बाट महादेव भट्ट चुनावी मैदानमा उत्रेका छन भने डडेल्धुराबाट डाक्टर तारा जोशी, दार्चुलामा गणेशसिंह ठगुन्ना र बाजुरामा कर्णबहादुर थापालाई एमालेले उम्मेदवार बनाएको छ ।
एकीकृत नेकपा माओवादीले भने कैलालीमा उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन । पार्टी भित्रको चरम विवादले माओवादीले कैलालीमा उम्मेदवारको टुङ्गो लगाउन नसकेको बताईएको छ ।
कैलालीको क्षेत्र नम्बर ५ मा कार्यकर्ताहरुले पूर्वमन्त्री लेखराज भट्टको उम्मेदवारी माग गरेका छन् । उनीहरुले भट्ट बाहेकको उम्मेदवारलाई सहयोग नगर्ने चेतावनी समेत दिएका छन् । पार्टीले भट्टलाई डोटी क्षेत्र नम्बर २ बाट उम्मेदवारका रुपमा घोषणा गरेको छ ।
यता क्षेत्र नम्बर ६ मा उम्मेदवारका आकांक्षी रमेश धामीले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका छन् । थारुवान राज्य समितिका सदस्य समेत रहेका धामीलाई पार्टीको क्षेत्रीय कमिटी र विभिन्न भातृ संगठनका प्रमुखहरुले समेत समर्थन जनाएका छन् ।
तर पार्टीले भने क्षेत्र नम्बर ६ मा पूर्व राज्यमन्त्री लीला भण्डारीलाई उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको स्रोतले बताएको छ । धामी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भण्डारी डाक्टर बाबुराम भट्टराई पक्षधर हुन् ।
कैलालीका क्षेत्र नम्बर ५ र ६ को विवादले अन्य क्षेत्रको उम्मेदवारी घोषणामा समेत प्रभाव पारेको छ । पार्टीले क्षेत्र नम्बर ५ र ६ बाहेकका क्षेत्रमा असहमतिका बाबजुद पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
तर माओवादीले कञ्चनपुरको १ बाट बिना मगर, २ बाट अमिन दहित थारु, ३ बाट टेकेन्द्र भट्ट र ४ बाट मोहन गिरीलाई अघि सारेको छ । मगर अध्यक्ष प्रचण्ड पुत्र प्रकाशकी तेस्रो श्रीमती हुन् ।
त्यसैगरी डोटीको १ बाट मोहन बम, २ बाट लेखराज भट्ट, अछामको १ बाट दीपक साउँद, २ बाट झंकर रावल, बैतडीको १ बाट नरेन्द्र कुँवर, २ बाट रेणु चन्द, बझाङको १ बाट देवराज रेग्मी, २ बाट हरि कुँवरको नाम घोषणा गरिएको छ ।
अछामका दुवै क्षेत्रबाट उम्मेदवारी प्रति असहमति जनाउँदै बागी उम्मेदवारी दिने घोषणा गरिएको छ । क्षेत्र नम्बर १ बाट झंकर साउँद र क्षेत्र नम्बर २ बाट अकल रावलले बागी उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
त्यस्तै दार्चुलामा ललितसिंह ठगुन्ना, डडेल्धुरामा खगराज भट्ट र बाजुरामा सहदेव बोगटीको नाम माओवादीले अघि सारेको छ ।
तीनवटै प्रमुख राजनीतिक दल भित्र उम्मेदवार घोषणाले हलचल उत्पन्न गरेको छ । पार्टी कार्यकर्ताहरु गुटउपगुटमा विभाजन भएर एक अर्का विरुद्ध बोल्न थालेका छन् ।