जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा समेत चर्को विद्युत्भार कटौती गरिएको भन्दै सदरमुकाम कुश्मावासी सडकमा उत्रिएका छन्।
केही सातादेखि नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा विद्युत्भार कटौती अन्त्यका लागि दबाब दिँदै आएका कुश्मावासीले आज पर्वत बन्दको आह्वान गरेर सडकमा निस्किएका छन्। बन्दका कारण बिहानैदेखि सदरमुकाम कुश्माबजारका उद्योग, व्यवसाय, पसल, शैक्षिक संस्था, वित्तीय संस्था ठप्प बनेका छन्।
आन्दोलनका क्रममा मङ्गलबार उपभोक्ता र प्रहरीबीच झडप भएको थियो। विगतका वर्षमा पर्वत जिल्लालाई प्रभावित क्षेत्रका रुपमा राखेर विद्युत्भार कटौती नगरे पनि यस वर्ष दैनिक १० घन्टासम्म विद्युत्भार कटौती भइरहेको छ। पर्वतमा १४.८ मेगावाटको मोदीखोला जलविद्युत्, १० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् र एक मेगावाटको पातीखोला जलविद्युत् आयोजना सञ्चालनमा छन्।
जिल्लामा विद्युत् आयोजना सञ्चालनमा भएको र प्रभावित क्षेत्रमा समेत १० घन्टा बढी विद्युत्भार कटौती भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले आजपछि जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरणमा घेराउ राखेका छन्।
आज पनि माग पूरा नभएमा बिहीबारदेखि यातायातसहित बजार, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना अनिश्चितकालका लागि बन्द गरिने संयुक्त सङ्घर्ष समितिका सचिव अच्युत तिवारीले जानकारी दिए। पर्वत बन्द भए पनि यातायातका साधन भने निर्बाधरुपमा सञ्चालन भएका छन्। रासस