नेपाली कांग्रेसको १३औं महाधिवेशनमा आधाभन्दा बढी संख्यामा नयाँ प्रतिनिधि सहभागी हुने भएका छन्।
अहिलेसम्म सम्पन्न भएका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा भएको प्रतिनिधि छनौट आँकडाको विश्लेषण गर्दा यस्तो तथ्यांक देखिएको हो।
क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न भइसकेका २६ जिल्लाका ५२ निर्वाचन क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने कुल ६ सय २४ प्रतिनिधिमध्ये ३ सय ५३ प्रतिनिधिहरु अर्थात् झण्डै ५७ प्रतिशत नयाँ अनुहार रहेकाछन्।
ती जिल्ला र क्षेत्रबाट पार्टीको १२औं महाधिवेशनमा प्रतिनिधित्व गरेर १३औें अधिवेशनमा पनि सहभागी हुन सफल प्रतिनिधिहरुको संख्या भने २ सय ७१ अर्थात ४३.४ प्रतिशत मात्रै रहेको छ।
महाधिवेशनमा नयाँ अनुहारको संख्या ह्वात्तै बढ्नुको प्रमुख कारण पार्टीको विधान अनुसार समावेशीतर्फ निर्वाचित भएर आउने ५ जना प्रतिनिधिहरुकै संख्या अधिक रहेको छ। जसमा अधिकांश प्रतिनिधिहरु १२औं अधिवेशनमा सहभागी हुन पाएका थिएनन् भने कतिपय निर्वाचन क्षेत्रमा दुई, चार जना स्थापित नेताबाहेक खुलाबाट आउने पनि नयाँकै बाहुल्यता रहेको छ।
पार्टीको विधान अनुसार, प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। जसमध्ये एक जना क्षेत्रीय सभापति र ६ जना खुला सदस्य दुई जना महिला, १ दलित, १ जनजाति र १ आपाङ्ग वा मुस्लिम वा मधेसी वा पीछडिएको वर्गबाट अनिवार्य प्रतिनिधित्वको व्यवस्था रहेको छ।
यसरी महाधिवेशन प्रतिनिधि चयन हुने क्रममा सबैभन्दा बढी नयाँ अनुहार रोल्पा क्षेत्र नम्बर २ बाट आएका छन्। कुल १२ जना प्रतिनिधि मध्ये रोल्पाका अमरसिंह पुन र सन्तबहादुर छन्त्यालबाहेक क्षेत्रीय सभापति गोपाल घर्तिसहित १० जना प्रतिनिधिले १२औं अधिवेशनमा भाग लिएका थिएनन्।
रुपन्देही २, अर्घाखाँची २, सुनसरी क्षेत्र नम्बर १ र २, चितबन ३, भोजपुरका दुबै क्षेत्र, दाङ १ र ५, सँगै काठमाडौं ५ बाट ९ जनाको दरले नयाँ प्रतिनिधि चयन भएर आएका छन्।
कञ्चनपुरका चारवटा क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा बाहेर अन्य क्षेत्रबाट ८ जनाको दरले नयाँ प्रतिनिधिहरु निर्वाचित भएर आएका छन भने क्षेत्र नम्बर ४ बाट ८ जना पुरानै प्रतिनिधि निर्वाचित भएर आएका छन्।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका तीनैवटा निर्वाचन क्षेत्रबाट आएका ३६ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये २० जना अघिल्लो महाधिवेशनमा सहभागी भएकै अनुहार दोहोरिएका छन्।
त्यसैगरी वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट ६ पुरानै र ६ जना नयाँ प्रतिनिधि निर्वाचित भएर आएका छन्। जसमध्ये १२ औं अधिवेशनमा जिल्लाबाट प्रतिनिधित्व नगरेका देउवा यसपटक भने निर्विरोध प्रतिनिधि बनेर आएका छन्।
काठमाडौंका क्षेत्र नम्बर १ देखि ६ सम्मका प्रतिनिधिहरुको नामावली हेर्दा क्षेत्र नम्बर ४ मा बाहेक सबै क्षेत्रबाट बहुमत प्रतिनिधि नयाँ छन भने ४ नम्बर क्षेत्रबाट ६ जना पुराना र ६ जना नयाँ प्रतिनिधि रहेका छन्। काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका ७२ जना प्रतिनिधिमा २७ जनाले मात्रै १२औं अधिवेशनमा भाग लिएका थिए।
नुवाकोट क्षेत्र नम्बर १ र २ क्षेत्रबाट ७ जनाको दरले नयाँ प्रतिनिधिहरु महाधिवेशनमा भाग लिने अवसर पाएका छन्। उदयपुर २, कपिलवस्तु ४, बझाङ १, पाल्पा ८ र मोरङ ६ बाट भने ८ जनाको दरले पुरानै अनुहार दोहोरिएका छन्।
नयाँ र पुराना अनुहार गरी बराबरीको संख्यामा प्रतिनिधित्व गरी आउने क्षेत्रहरुमा सिन्धुली १, झापा ३, मोरङ ५, कालिकोट, चितवन ४, डोटी १, कास्की १ रहेका छन्।