प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको गुरुयोजना अनुरुपको निर्माणको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्। उनले विगतमा भएको ढिलासुस्ती अब स्वीकार्य नहुने समेत बताए। लुम्बिनीको विकासको लागि ३८ वर्ष अघि निर्माण गरिएको गुरुयोजना हालसम्म पनि पुरा नहुनु अशोभनिय भएको भन्दै ओलीले अबको ३ वर्ष भित्रमा पुरा गर्न निर्देशन दिए।
आइतवार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी ६ महिनाभित्र समग्र गुरुयोजनाको अध्यावधी र संसोधन गर्नुपर्ने काम सम्पन्न गर्नुपर्ने र बढिमा तीन वर्षभित्र सम्पूर्ण गुरुयोजना अनुरुपको काम सम्पन्न गर्नुपर्ने बताए। “अबको तिनवर्ष पछि लुम्बिनीमा कुनैपनि राष्ट्रका पर्यटक आउंदा कतै कोट्याउंदै गरेको र कतै खन्दै गरेको भद्रगोल दृश्य देख्नु नपरोस्” उनको निर्देशन थियो। कपिलवस्तुको तिलौराकोट, लुम्बिनी र रामग्राम जोडेर बनाईने ग्रेटर लुम्बिनीको विषयमा पनि विभिन्न देशसंग छलफल भइरहेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीभित्र निर्माण हुने संरचनाहरु पनि बौद्ध संस्कृतिसंग झल्कने खालका हुनुपर्ने बताए।
लुम्बिनी नेपालको मात्र नभई विश्वकै पुण्यभुमि, तपोभुमी र ज्ञानभूमि भएको भन्दै ओलीले लुम्बिनीबाट नै विश्वभर शान्तिको सन्देश फैलाउनुपर्ने बताए। कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले संविधान जारी भइसकेपछि अबको बाटो शान्ति र सम्वृद्धी रहेको भन्दै त्यसको शुरुवात लुम्बिनीबाटै गर्नुपर्ने बताए। मन्त्री पोखरेलले लुम्बिनीको विकासलाई सरकारले उच्चतम प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीको लुम्बिनी आगमन त्यसैको प्रमाण रहेको बताए।
कार्यक्रममा लुम्बिनी विकास कोषका सिनियर इञ्जिनियर सरोज भट्टराईले सन् १९७८ मा जापनीज प्रोफेसर केञ्जियो टांगेले निर्माण गरेको गुरुयोजनाको बारेमा जानकारी गराएका थिए। संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव उथानले सन् १९६७ मा लुम्बिनी भ्रमण गरेपछि प्रोफेसर टांगेले सन् १९७२ देखि लुम्बिनीको गुरुयोजना बनाउन शुरु गरेका हुन् ।
पांच वर्ष लगाएर बनाईएको उक्त गुरुयोजनामा ४२ वटा राष्ट्रले बौद्ध संस्कृती झल्कने मोनास्ट्री निर्माण गर्नेगरी स्थान विभाजन गरिएपनि हाल २५ वटा राष्ट्रले मात्र विहार तथा मोनाष्ट्री निर्माण गरेका छन् । गुरुयोजना अनुरुपको ६५ प्रतिशत काम सम्पन्न भएको र बाकी रहेको ३५ प्रतिशत काम सम्पन्न गर्न करिब ६ अर्ब रुपैया लाग्ने र रकम प्राप्त भए ४ वर्ष भित्रमा गुरुयोजना अनुरुपको सबै काम सम्पन्न हुने इञ्जिनियर भट्टराईले बताए।