कालोबजारीको विरुद्ध संयुक्त रुपमा नेपाल आयल निगम घेराउ सहितका विरोधका कार्यक्रम गरेका माओवादी पार्टी सम्बद्ध तीन वटा विद्यार्थी संगठनले जनयुद्ध दिवस पनि संयुक्त रुपमा मनाएका छन्।
एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सम्बद्ध तीन वटा अखिल क्रान्तिकारीले २१ औं जनयुद्ध दिवस शनिबार संयुक्त रुपमा मनाएका हुन्।
तिन वटा अखिल क्रान्तिकारीले जनयुद्ध दिवसका अवसरमा प्रभातफेरि र सभा संयुक्त रुपमा गरेका छन्। उनीहरुले भृकुटीमण्डपबाट प्रभातफेरि निकालेर अनामनगर, विजुलीबजार, बबरमहल हुँदै माइतीघर मण्डलामा पुगी संयुक्त सभा गरेका हुन्। जनयुद्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएकाहरुको सम्झनास्वरुप संयुक्त रुपमा कार्यक्रम गरिएको तिनवटै अखिल क्रान्तिकारीका नेताहरुले बताए। २०५२ सालको फागुन १ गते सुरु भएर १० वर्षसम्म चलेको जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट करिब १७ हजार जना मारिएका थिए। जनयुद्धका क्रममा एउटै पार्टी रहेको माओवादी भने जनयुद्धपछि शान्ति प्रक्रिया थालनी भएसँगै छिन्नभिन्न भएको हो।