आज २१ औं जनयुद्ध दिवस। एकीकृत माओवादी, नेकपा माओवादी लगायतका पार्टीले आज यो दिवस मनाउँदै छन्।
जनयुद्धमा होमिएका माओवादी अहिले फुटेर टुक्रा टुक्रा भएको छ। यसैबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवसको अवसरमा शुभकामना दिँदै छरिएर रहेका सबै माओवादी शक्तिहरुलाई मालेमावादको झण्डामुनि एकतावद्ध भै क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै दृढतापूर्वक अगाडि बढ्न अपिल गरेका छन् । उनले सहिदले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
जनयुद्धको जगमा नेपाली जनताले आधा शताब्दी पहिलेदेखि संविधानसभामार्फत संविधान बनाउने सपना साकार पार्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक अधिकारसहितको संविधान घोषणाका लागि संघर्ष भएको उनले बताए।
'अन्तिम चरणमा संविधानसभामार्फत संविधान घोषणा हुन नदिन घरेलु प्रतिक्रियावाद र वैदेशिक हस्तक्षेपको नांगो रूपमा अन्तिम तागत प्रयोग भए पनि संविधासभाबाट संविधान घोषणा गराउन हाम्रो पार्टीले खेलेको भूमिका इतिहासमा अविस्मरणीय छ ।' प्रचण्डले भनेका छन्।