प्रमुख ३ दल र मधेसी मोर्चाको कार्यदलले बैठकमा सीमांकनमा देखिएको विवाद सल्टाउन उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सीमांकनमा देखिएको समस्या समाधानका लागि संयन्त्र बनाउने सहमति भएतापनि त्यसको कार्यक्षेत्र भने टुंगो नलागेको कार्यदलका सदस्य भीम रावलले सेतोपाटीलाई जानकारी दिए। सीमांकनमा देखिएको समस्याको छिटोभन्दा छिटो समाधान गर्न ३ दल र मोर्चा आतुर रहेको उनले सुनाए।
संयन्त्रको कार्यक्षेत्रका विषयमा कार्यदलले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने र मधेसी मोर्चापनि आन्तरिक छलफलमा जुटेर अर्को बैठक बस्ने नेताहरुबीच सहमति भएको छ। अाइतबारसम्ममा उच्चस्तरिय राजनीतिक संयन्त्र र त्यसकाे कार्यक्षेत्रबारे टुंगो लगाउन पहल गरिने रावलले बताए।
बैठकमा नेताहरु प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सीमांकनमा देखिएको समस्या सल्टाउनका लागि अधिकतम पहल गर्न तयार भएका छन्। यसै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह प्रमुख दलहरुको बैठक बोलाएका छन्।