नेपाली कांग्रेस मोरङको नेतृत्व पहिलो पटक संस्थापन खेमाबाट फुत्किएर देउवा पक्षमा गएको छ। कोइराला परिवारको गृह जिल्लाको नेतृत्व १२ अौं महाधिवेशनसम्म संस्थापन पक्षसंगै रहदै आएको थियो।
१३औं महाअधिवेशन आइपुग्दा शेरबहादुर देउवा पक्षका संसाद डिगबहादुर लिम्बूले ठूलो अन्तरका साथ सस्थापन पक्षका उम्मेद्वार गोपालमान राजभण्डारीलाई पराजित गरेका छन्। लिम्बूले ५९२ मत ल्याए भने राजभण्डारीले ३३६ मत मात्र ल्याए।
फागुनमा हुने महाधिवेशनका लागि संस्थापन र देउवा पक्ष बीचको प्रतिपस्पर्धा तीव्र बन्दै गएका बेला मोरङ कांग्रेसमा आएको यो परिणामले संस्थापन पक्षलाई धक्का दिएको छ भने देउवा पक्ष उत्साहित भएको छ।
संस्थापन पक्षका हस्तीहरू आमोदप्रसाद उप्पाध्याय, महेश आचार्य, शेखर कोइराला र मिनेन्द्र रिजालको सक्रियताका बावजुत देउवा पक्षले जिल्ला सभापति र मोरङ जिल्लाका ९ निर्वाचन क्षेत्र मध्ये ५ वटामा क्षेत्रीय सभापति जितेको छ।
मूलतः संस्थापन पक्ष आफैं भित्र बिभाजित भएको फाइदा देउवा पक्षले उठाएको हो। संस्थापन पक्षबीच कुरा नमिल्दा जिल्ला सभापतिमा यो खेमा बाटै दुई जनाको उमेद्वारी पर्यो। राजभण्डारीका अलावा केदार कार्कीले पनि उम्मेद्वार दिए। कार्कीले १९५ मत ल्याएर तेस्रो भए।
कार्की र राजभण्डारीबीच मत बाढिएर मात्र संस्थापन पक्षको हार भएको भने होइन। लिम्बूले ५९२ मत ल्याएका थिए भने संस्थापनका उम्मेद्वार राजभण्डारी र कार्कीको मत जोड्दा पनि ५३१ मात्र पुग्छ। संस्थापन पक्ष भित्रैको विभाजनको मनोवैज्ञानिक प्रभाव भने जिल्ला महाधिवेशनमा पक्कै पर्यो।
मतगणना जारी हुँदा मध्यरातिसम्म कुनै उमेद्वारको बहुमत आउँदैन र अन्ततस् दोस्रो चरणको चुनाव हुन्छ भन्ने थियो। तर पहिलो चरणमै लिम्बूले सभापति हुन आवश्यक ५० प्रतिशत भन्दा बढी मत ल्याए।
मोरङका ९ निर्वाचन क्षेत्र मध्ये ५ वटा क्षेत्रमा कांग्रेसले जितेको छ। यी पाँच निर्वाचित सांसदमध्ये तीन जनाले देउवा खेमामा गएपछि लिम्बूको जित सहज भएको हो। क्षेत्र नम्बर ५ का सांसद अमृत अर्याल र क्षेत्र नम्बर ३ का दिलीप गच्छदार लिम्बूको सभापति उम्मेद्वारीको प्रस्तावक र समर्थक बसेका थिए। लिम्बू आफैं क्षेत्र नम्बर ९ का निर्वाचित सांसद हुन्। उनले एमालेका घनश्याम खतिवडा र एमाओवादीका बर्षमान पुनलाई पराजित गरेका हुन्।
अर्याल आफैं तेस्रो सभापति उठ्न चाहन्थे तर कांग्रेसले यसपटक गरेको विधानको ब्याख्याले जिल्ला तहमा पनि एकै व्यक्तिलाई दुई पटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था गर्यो। त्यसपछि लगातार दुई कार्यकाल मोरङ हाँकेका अर्याल सभापतिको उम्मेद्वार बन्न पाएनन्।
अघिल्लो पटक अर्याललेनै लिम्बूलाई सभापतिमा हराएका थिए। कांग्रेसको ११औं महाधिवेशनमा अर्याल पहिलो पटक जिल्ला सभापतिमा बन्दा अर्यालले कोइराला परिवारका सदस्य तथा लामो समयसम्म मोरङ कांग्रेसका साभापति अशोक कोइरालालाई हराएका थिए। कोइराला दिबंगत पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ हुन। अर्याललाई त्यो बेला महेश आचार्य तथा आमोदप्रसाद उपाध्यायले सहयोग गरेका थिए।
यसरी धेरै अघिदेखि कोइराला परिवारको तारो बनेका अर्याल यसपालि देउवा पक्षमा लागेका हुन। दुई पटक जिल्ला सभापति भैसकेका अर्याल देउवा पक्षमा गएपछि मोरङमा संस्थापन पक्ष कमजोर देखिएको हो।
‘संस्थापन पक्षले आफू कमजोर रहेको महसुस गरेन, दम्भ पालेर बस्यो, विभाजित भयो, त्यसको फाइदा अर्को समूहलाई पर्यो,’ कांग्रेस मोरङका पूर्व सचिव विष्ट भन्छन्, ‘अर्यालले संस्थापनलाई धोका दिंदा परिणाम यस्तो आएको हो तर महाधिवेशन प्रतिनिधि संस्थापनकै धेरै छन्, जिल्लाभरि हाम्रै जित छ।ु
लिम्बूको जितसँगै कांग्रेस मोरङमा कार्यसमिति नै देउवा पक्ष हावी भएको छ। देउवा पक्षबाट सचिवमा नागेश कोइराला र कोषाध्यक्षमा गोपाल थापाले जितेका छन्। तर कोइरालालाई दुबैतिरको मत गएको बताइन्छ।
क्षेत्रीय सभापतिमा पनि देउवा समूहबाट बढी छानिएको बताइएको छ। संस्थापन पक्षबाट क्षेत्र नम्बर १ मा नागेश्वर सिंह, क्षेत्र नम्बर ४ सुमन कुँवर, ६ बाट विनोद बस्नेत र ७ बाट निरञ्जन रिजाल छन्। देउवा समूहबाट क्षेत्र नम्बर २ गणेश खड्का, ३ मोहनविक्रम कार्की, ५ दिलीप पोखरेल, ८ देवु तामाङ र ९ बाट खड्ग फागो छानिएका छन्।
संस्थापन पक्ष र कोइराला परिवारको हारबारे नव निर्वाचित जिल्ला सचिव कोइरालाले भने, ‘हार र जितको कुरा हैन, लिगेसी त हारेको हैन नि।’ उनले अर्याल र लिम्बू समकालीन नेता भएकाले लिम्बू सभापति छानिनु नौलो नभएको प्रतिक्रिया दिए। ‘उहाँ (लिम्बू) देउवा समूहको भनेर अब मान्नुहुँदैन, उहाँ सिनियर नेता हो,’ उनले भने, ‘शेरबहादुर र सुशील पक्ष हैन, कांग्रेसले जितेको भन्नुपर्छ।’
जितपछि सेतोपाटीसँग कुरा गर्दै लिम्बूले भने, 'कार्यकर्ताले परिवर्तनको चाहना राखेका थिए, त्यसैले कार्यकर्ताको भावना र एकताले नेतृत्व हात परेको छ, यो जित कुनै समूहको जित नभएर कार्यकर्ताको परिवर्तनको चाहना हो भन्ने बुझ्नुपर्छ।’
लिम्बूले संगठनलाई गति दिन र सुदृढीकरण गर्न सबैको भावनालाई समेटेर अगाडि बढने बताए।
लोकतान्त्रिक राजनीतिको बिरासत थामेको कोइराला परिवारको गृह जिल्लामा संस्थापन पक्षको हारले महाधिवेशनमा मनोवैज्ञानिक प्रभाव पार्ने मात्र छैन, यसले संस्थापन पक्ष माथि दबाब पनि बढाउनेछ।