नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुःखी तुल्याएको बताउँदै कोइरालाको नेतृत्वमा जारी गरिएको नयाँ संविधानको कार्यान्वयन गरिने बताएका छन्।
संविधानको कार्यान्वयन गर्दै देशलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लगिने उनको भनाइ छ।
बुधवार गोरखामा आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले जारी भएको संविधानमा मधेसी, थारुलगायत समुदायको अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान संशोधन गरेर भए पनि देशमा शान्ति ल्याउने बताए।
एमाओवादीलाई ‘थोत्रो गाडी’ को सङ्ज्ञा दिँदै डा भट्टराईले नयाँ शक्ति नयाँ गाडी भएको दाबी गरे। बेपत्ता छानबिन आयोग गठन भए पनि त्यसले बेपत्ताजनको परिवारले चाहेजस्तो छिटो काम गर्न नसकेको भट्टराईको टिप्पणी छ। आफू जनताको सेवक भएको भन्दै उनले भने-“जनप्रतिनिधि सधैँ जनताको सेवक हुन्। जब मालिक र नेता बन्छन् उनीहरु जनप्रतिनिधि हुँदैनन्।” रासस