नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिका लागि दशरथ रङ्गशालाबाट अहिले शवयात्रा सुरु गरिएको छ।
दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १ ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा सुरु गरिएको हो। शवयात्रा सुरु हुँदा राष्टिय गीतको धुन बजाइएको थियो।
शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइनेछ।
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको छ।
मङ्गलबार बिहान १२:५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिनेछ।
काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मङ्गलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको थियो। रासस