पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनप्रति स्तब्ध हुदै नेपाली कांग्रेसले उनीप्रति शोक प्रकट गर्न ३ दिन देशभरीका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान पार्टी मुख्यालयमा बसेको कांग्रेसको आकस्मिक बैठकले १३ दिनसम्म पार्टीको तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ।
केन्द्रीय सदस्य गगन थापाका अनुसार, कोइरालाको निधनको १३औं तिथीका दिन राजधानी लगायत सबै जिल्लामा शोकसभा गर्नुका साथै उक्तदिन कोइरालाको भष्म देशभरी पुर्याउने पनि निर्णय गरेको छ।
पार्टीको १३औं महाधिवेशनको मध्यभागमा नै सभापति कोइरालाको निधन पश्चात पार्टीले जिल्ला र क्षेत्रीय अधिवेशन फागुन १ गतेसम्म स्थगित गर्ने पनि निर्णय गरेको छ। सभापतिको निधनमा शोक व्यक्त गर्न १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णयका बाबजूद क्षेत्र र जिल्लाको अधिवशेन गर्न बाँकि रहेका स्थानमा निर्वाचन समितिको सहजता र निर्णयका आधारमा फागुन १ गतेपछि गर्न सकिने भएको छ। विचको अबधिमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भनिएपनि अधिवेशन गर्न बाँकि जिल्लाको अधिवेशन अपवादको रुपमा गर्न सकिने निर्णय गरेको सदस्य थापाले बताए।
पार्टी उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले पारित गरेको शोक प्रस्तावमा संविधान निर्माणको प्रक्रियामा महत्वपूर्ण र मुख्य भूमिका निर्वाह गरेका कोइरालाको योगदानलाई मुलुकले सधैं गर्वसाथ स्मरण गर्ने उल्लेख छ।
त्यसैगरी संविधान जारी भएपछि मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितीमा पनि कोइरालाले लिएको सहमति, सहकार्य र राष्ट्रिय एकताको मुल मन्त्रका आधारमा उहाले निर्वाह गरेको भूमिकाका कारण मुलुकमा पछिल्लो समय सहजताको मार्ग लिएको बताइएको छ।
कोइरालको भूमिकाका कारण मुलुकले लिन लागेको शान्ति र स्थायित्वको यात्रालाई पार्टीले टुंगोमा पुर्याउन निरन्तर लाग्ने पनि निर्णय गरेको छ।
संविधानका कतिपय विषयमा गम्भिर असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका मधेसवादी दलपनि कोइरालासँगको वार्ता पश्चात सहमतिका लागि तयार भएका थिए।