पार्टी सभापति सुशील कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका कांग्रेस नेता नरहरी आर्चायलाई ब्रेन ह्यामरेज भएको छ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्यको मष्तिष्कमा रगत जमेको चिकित्सकहरुले जानकारी दिएको नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले सेतोपाटीलार्इ बताए।
मस्तिष्कमा रगत जमेकाले उनको शरीरको दायाँ भाग शिथिल भएको छ। ‘दायाँ भागमा प्यारालाइसिस जस्तो देखिएको छ,'प्रधानले भने,'चिकित्सकहरुले केही समय लाग्न सक्छ,तर ठिक हुन्छ भनेका छन्।'
कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिन नेता आचार्य झिसमिसै कोइराला निवास महाराजगन्ज पुगेका थिए। कांग्रेस नेताहरुसँग छलफलपछि निवास प्राङ्गणमा उपस्थित संचारकर्मीसँग आचार्यले झन्डै १५ मिनेट कुरा गरेका थिए।
'उहाँले मलार्इ बोल्न असहजिलो भयो भन्नु भएपछि हामी निवासबाट बाहिर निस्कदै थियाैं, गेटबाहिर पुगेपछि उहाँको जिउ थामिएन' प्रधानले भने,'त्यसपछि मैले गाडीमा राखेर तुरुन्तै अस्पताल लगे।' गंगालाल अस्पतालमा पुर्याइएका आचार्यलाई चिकित्सकले नसा सम्वन्धी रोग हुनसक्ने भन्दै वासवारीस्थित न्युरो अस्पतालमा लैजान सुझाएका थिए।
उच्च रक्तचापका कारण आचार्यलार्इ ब्रेन ह्यामरेज भएको थाहा भएको छ। आज विहान उनको रक्तचाप २८०/१२० पुगेको चिकित्सकहरुले बताएका छन्।