संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी संघर्षलाई निर्णायक बनाउन राजधानी केन्द्रीत आन्दोलनका लागि तयार रहन काठमाडौंवासीलाई आह्वान गरेका छन्। काठमाडौंका नेवार र वरिपरिका तामाङ समुदायलाई आन्दोलनमा सहभागी भई यसलाई निष्कर्षमा पुर्याउन अध्यक्ष यादवले आह्वान गरेका हुन्।
‘उपत्यकाभित्रका नेवार र तामाङ समुदाय संघर्षमा नउत्रिदासम्म सरकारले घुडा टेक्दैन’ ल्होछारको अवसरमा समाजवादी तामाङ संघले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘उत्पीडित जनतालाई अधिकार दिने सवालमा सरकार संवेदनहीन देखिएकोले उपत्यकाबासी सडकमा उत्रिनुको विकल्प छैन ।’ मधेशी, नेवार र तामाङ समुदाय संयुक्त रुपमा संघर्षमा उत्रे मात्र जारी आन्दोलन आन्दोलन उत्कर्षमा पुग्ने उनले बताए।
‘अहिले जारी रहेको लडाई मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम लगायत उत्पीडित एवं सीमान्तकृत समुदायको अस्तित्वको लडाई भएकोले अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदैन‘ उनले भने, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ।‘ भूकम्पपीडितको बिचल्ली हुँदा पनि सरकार तमासे बनेको यादवको आरोप छ ।
‘चिसो याममा भूकम्पपीडितको बिचल्ली छ। लोडसेडिङले जनता अक्रान्त छन्। इन्धन अभावले चरम सास्ती खेप्नु परेको छ। कालोबजारिया हावी भएर महँगी आकासिएको छ। तर पनि सरकार आफ्नो गल्ती कमि कमजोरी ढाकछोप गर्न उद्दत छ‘ उनले भने।
अध्यक्ष यादवले वार्तामार्फत् समाधानका लागि आफूहरु हदैसम्मको लचक र गम्भीर भएपनि सरकार आफैले वार्तामा गम्भीर नदेखिएकोले आन्दोलन जारी राख्नुको विकल्प नभएको बताए। साता दिनअघि मात्रै फोरम नेपालको केन्द्रीय कार्य समिति बैठकले जारी आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो।