मुख्यत: संघिय सीमांकन सम्वन्धी आफ्ना माग पुरा नभएको भन्दै मधेसी मोर्चाले चार महिनादेखि अवरुद्ध गर्दै आएको विरगन्ज-रक्सौल नाका आजदेखि पूर्णरुपले खुलेको छl
नेपाल-भारत व्यापारका अन्य नाका पूर्णरुपमा संचालनमा आए पनि मधेस आन्दोलनको केन्द्रविन्दु विरगन्जसँग जोडिएको उक्त नाका भने बन्द नै रहेको थियोl
आज नै वीरगन्ज-रक्सौल नाकाबाट साना सवारी बाहेक ५० वटा ट्रक-कन्टेनर र ४० वटा नयाँ ट्याक्टर भित्रिएका छन्l उक्त नाकालार्इ फेरि तुरन्तै बन्द गर्न मधेसी मोर्चाका निम्ति सहज छैनl
विगत केही हप्तादेखि नाका खुल्ने हल्ला चले पनि आजदेखि नै सुचारु होला भन्ने अनुमान चाहिँ धेरैले गरेका थिएनन्l
कसरी खुल्यो त मधेस आन्दोलनको केन्द्रविन्दु भएको वीरगंज-रक्सौल नाका?
यसको पहिलो कारण भारत नै होl विगत केही दिनदेखि भारतीय अधिकारीहरुले नेपालतर्फ आउने गाडीलार्इ ‘कस्टमस क्लियरेन्स’ दिन सुरु गरिसकेका थिएl भारतका भन्सार कर्मचारीले नीति बदलेसँगै धेरैलार्इ अब नाकावन्दी टिक्न सक्दैन भन्ने लाग्न थालिसकेको थियोl
दोश्रो कारण हो, थकान भएको मधेस आन्दोलन। कालाबजारीमार्फत केही मानिस मालामाल भए पनि नेपाल-भारतबीचको प्रमुख नाका बन्द भएका कारण ब्यापार-व्यवसाय र रोजगारी चौपट भएको थियोl नाकावन्दीलार्इ निरन्तरता दिएपनि माग पुरा हुने छाँटकाँट थिएनl
आन्दोलनकारी र आन्दोलनका समर्थकले विश्वास गुमाउँदै गए भने आन्दोलनको स्वरूप बदल्नु पर्ने आवाज पनि चर्को रुपमा उठ्दै गयोl जाडो याम सुरु भएसँगै नाकामा धर्ना दिनेको संख्या अत्यन्तै न्यून हुँदै गएको थियोl
तेश्रो कारण भने आज नै नाकावन्दी किन खुल्यो भन्ने कुरासँग सम्वन्धित छl विरगन्ज नाकावन्दीको जिम्मा लिएका मोर्चा नेता राजेन्द्र महतोले हिजो नै संचारमाध्यमलार्इ भनेका थिए–म आफै गएर विरगन्ज नाका खोल्छुl अन्य नाका सुचारु भएको अवस्थामा विरगन्ज नाका बन्द गर्नुको औचित्य नहुने भन्ने उनको अभिव्यक्तिले कार्यकर्तामा बचेको आत्मविश्वास पनि बाँकी रहेनl
आज त केवल ४ जना मोर्चा कार्यकर्ताले मात्र धर्ना दिइरहेका थिएl ठूलो संख्यामा आएका भारतीय ब्यापारीहरु र स्थानीय मानिसले मोर्चाका कार्यकर्ताले बनाएको पाल हटाए र नाका संचालनमा आयोl
मोर्चाका नेता-कार्यकर्तालार्इ नाकावन्दी ढिलो चाँडो अन्त्य हुन्छ भन्ने भएपनि आजैबाट नाका सुरु हुन्छ भन्ने चाहिँ थिएनl उनीहरुका अनुसार अबको दुर्इ-तीन दिनमा मोर्चाले औपचारिक निर्णय लिने र नाका स्थलमा एउटा ठूलो कार्यक्रम आयोजना गरेर नाकावन्दीमा सहयोग गर्ने विशेषत: भारतीय पक्षलार्इ धन्यवाद दिएर मात्र नाकावन्दी अन्त्य गर्ने योजना थियोl
तर ठूलो संख्यामा आएका भारतीय ब्यापारी, नेपालका यातायात व्यवसायी र स्थानीयले आन्दोलनकारीका पाल हटाएपछि मोर्चाका नेताको केही लागेनl नाका खुलेपछि तमलोपाका जितेन्द्र सोनाल, फोरमका प्रदिप यादव लगायतका नेता नाका फेरि बन्द गर्ने अडानसहित धर्ना स्थलमा आएका थिएl तर नेपाल र भारत दुवैतर्फका ब्यापारी र स्थानीयको धम्किका अगाडी उनीहरुको केही जोड चलेनl
स्थानीयस्तरमा नाकावन्दी विरुद्धको आवाज सशक्त भएका कारण भारतीय पक्षले नै नाकाबन्दी नगरेसम्म मोर्चाले आफ्नैतर्फबाट फेरि नाकाबन्दी गर्ने सम्भावना अहिलेका लागि देखिंदैन।