पार्टीको विधान नबुझ्दा कांग्रेसकै पूर्व केन्द्रीय सदस्य, सांसद तथा समानुपातिक तर्फ उम्मेदवारको सूचीमा परेका नेताहरुले नै महाधिवेशन प्रतिनिधि बन्नबाट बञ्चित भएका छन्।
पार्टी विधानको प्रावधान नबुझ्दा पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीदेखि कैलाली क्षेत्र नम्बर ५ का सांसाद दिर्घराज भाटसम्म प्रतिनिधि चयन प्रतिस्पर्धाबाटै बाहिरिएका हुन्। उनीहरुसँगै संखुवासभाका कांग्रेस नेता थलकुमार लिंखाले महाधिवेशन प्रतिनिधि चयनको प्रतिस्पर्धामा भाग लिन पाएनन्।
पार्टीको विधान अनुसार, पार्टी केन्द्रीय सदस्य तथा गत संविधानसभामा प्रत्येक्ष वा समानुपातिक तर्फ उम्मेदवारको सूचिमा नाम भएका नेताहरुले गाउँ तथा नगर वडा प्रतिनिधिको चुनावमा प्रतिस्पर्धा नगरी सोझै क्षेत्रीय प्रतिनिधि बन्न पाउने व्यवस्था रहेको छ। यसका बाबजूद यदि कुनै सदस्यले बुथ प्रतिनिधि चयनको प्रक्रियामा भाग लिएमा वा मतदान गरेमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा भाग लिन तलैदेखि प्रतिनिधि भएर आउनु पर्छ।
यदि कुनै सदस्यले यसरी स्थानीय तहको अधिवेशनमा भाग लिएर प्रतिनिधि बन्न सकेनन भने उनीहरुका लागि क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनमा भाग लिन नपाउने व्यवस्था रहेको छ। तर समानुपातिक सदस्य सूचिमा रहेका भण्डारी र लिंखाका अतिरिक्त सांसद भाटले आफ्नो गाउँ र नगरस्तरिय प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा भाग लिएर मतदान गरेका कारण उनीहरुले आज भएको क्षेत्रीय अधिवेशनमा भाग लिन नपाएका हुन्।
कैलाली र संखुवासभामा भण्डारी, भाट र लिंखाले सहभागी हुन खोज्दा अन्य सदस्यहरुले दाबी विरोध दर्ता गराएपछि उनीहरु महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाबाट बाहिरिएर सामान्य क्रियाशिल सदस्यका रुपमा बस्नु परेको छ।