नेपाली कांग्रेस सांसद एवम् पार्टीका पूर्व केन्द्रीय सदस्य तारणीदत्त चटौत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। शुक्रवार भएको कन्चनपुर जिल्ला क्षेत्र नम्बर ४ को अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उठेका चटौत पराजित भएका हुन्।
कन्चनपुर क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा भने गोपालदत्त भट्ट निर्वाचित भए। जिल्ला सभापति एवम् सांसद बहादुरसिंह थापाका अनुसार महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सांसद रमेश लेखक, यज्ञराज जोशी, बीरबहादुर सुनार, खगेश्वर बोहरा, कृष्ण पनेरु र दुर्गा जोशी निर्वाचित भएका छन्।
जनजाति तर्फ बेलबहादुर राना, दलीत सदस्यमा रमेश दयाल, अपांगमा दिवाकार पाण्डे, महिलामा मधु भारती र सुनिता भाट पनि निर्वाचित भएका छन्।
यसैगरी कन्चनपुर क्षेत्र नम्बर २ को सभापतिमा चिन्तामणि भट्ट निर्वाचित भए।
यस्तै कैलाली क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिका लागि दुई महिला सदस्यमा बाहेक सबै प्रतिनिधि र्निविरोध निर्वाचित भए। सांसद पुष्करनाथ ओझाका अनुसार, क्षेत्रीय सभापतिमा हरिश खड्कासहित सम्पूर्ण क्षेत्रीय समिति र जिल्ला समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा खुला तर्फ ओझा, नारायणदत्त भट्ट, आनन्दराज जोशी, कृष्णबहादुर महरा, नरनारायण शाह र उत्तम कठायत निर्वाचित भएका छन्। यसैगरी आदिवासी जनजाति तर्फ सांसद प्यारेलाल राना, दलितमा टेकबहादुर रैका, मधेसी तर्फ बब्लु चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। दुइ महिला सदस्यका लागि सहमति नभएपछि मतदान भएपनि मत परिणाम आइसकेको छैन।
उता कास्की जिल्ला क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिमा बृजमान गुरुङ, २ को क्षेत्रीय सभापतिमा मधु वास्तोला र क्षेत्र नम्बार ३ को सभापतिमा विजय आचार्य निर्वाचित भएका छन्। कास्कीका चारवटा निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन पश्चात अहिले मतगणना जारी छ।
यसैगरी झापा क्षेत्र नम्बर १ र २ को कांग्रेस क्षेत्रीय समितिमा क्रमशः मणी उप्रेती, र नविन विमली निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी क्षेत्र नम्बर चारबाट महाधिवेशन प्रतिनिधिमा महिला तर्फ सांसद सरिता प्रसाइ र चन्द्रकला भण्डारी तथा जनजाति तर्फ मोहन सुब्बा पनि निर्विरोध निर्वाचित भएका छन्।