प्रायः सेतो कमिज सरवालमा देखिने एउटा चिरपरिचित व्यक्ति बढो उत्साहसाथ सुनसरी जिल्लाभरि दौडधुप गरिरहेका देखिन्छन्। उनका साथ साना, ठूला, युवापुस्ता, पाका सबैखाले आमनेसामने देखिन्छन्।
हसिलो अनुहार, फुर्तिलो शरीर। साँझ विराटनगर पुग्छन्, विहानै सुनसरी। सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ त छुट्ने कुरै भएन।
‘सिद्धार्थ दाइ जय नेपाल, बाबु जय नेपाल।’
शुक्रबार सुनसरी क्षेत्र नम्बर ४ को इनरुवास्थित बाल मन्दिर स्कुलमा पुग्दा यस्तै सुनिन्थ्यो, देखिन्थ्यो। त्यहाँ उक्त क्षेत्रको क्षेत्रीय अधिवेशन भइरहेको थियो। झट्ट हेर्दा यो माहौलमा महामानव बिपी कोइराला यतै कतै छन् जस्तो लाग्छ। बिपीकै जस्तो शैली, मिलनसार स्वभाव अनि स्पष्ट मार्गचित्र।
यदाकदा अनुहार पनि विपीकै जस्तो देखिने उनी हुन्, सिद्धार्थ कोइराला।
उनी विपी हैनन्, बिपीका नाति हुन्। केही समयअघिसम्म उनको नाम बलिउडसँग जोडिएको थियो। उनी बलिउडका कलाकार थिए। अब उनलाई कलाकारिता र बलिउडसँग मात्र जोडेर मूल्यांकन गर्न खोजियो भने ‘अन्याय’ महसुस हुन थालेको रहेछ।
‘कलाकारिता क्षेत्रसँग जे थियो त्यसलाई अहिले स्टप गरौं,’ उनी भन्छन्, ‘धेरैले के–के भन्छन् भन्छन्।’
...
नेपाली राजनीति, त्यसमाथि प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारका कुनै न कुनै सदस्यको नाम जोडिने गर्छ। प्रजातन्त्र प्राप्तिको लडाइँका दौरान कोही कता पुगे, कोही कता हराए।
कोइराला परिवारका कतिपय सदस्य अहिले पनि कांग्रेस राजनीतिमा कहलिएकै छन्। राजनीतिको मेसोमा भर्खर आइपुगेका सिद्धार्थ पनि मैदान खन्दैछन्।
‘जिल्लाका सबै सिनियर नेता, साथीभाइ, युवा सबैजसोलाई भेटेँ,’ उनी भन्छन्, ‘दुरदराज र तल्लो तहमा पनि गइरहेकै छु।’
तराई, त्यसमा मधेसी समुदायको बर्चश्व भएको स्थान मधेसा, इनरुवा। एक किसिमले यो ठाउँ मधेसी राजनीतिको अखडा हो तर जब सिद्धार्थ यहाँ सक्रिय हुन थाले यहाँ बेग्लै किसिमको रनकझनक छ।
‘यो ठाउँमा बिपी सक्रिय हुँदा जस्तो रंग देखिन्थ्यो, अहिले त्यस्तै झल्को आउँछ,’ सांसद सीताराम मेहेता भन्छन्। यहीँबाट सिद्धार्थले यसैसाल नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिए, क्षेत्रीय प्रतिनिधि चुनिए। महाधिवेशन प्रतिनिधिका निम्ति उम्मेद्वारी घोषणा गरिसके।
अहिलेलाई यत्ति हो, उनी उच्च तहमा पुग्न चाहँदैनन् र उच्च तहमा पुग्ने उनलाई खासै रहर पनि छैन रे! ‘परिस्थितिले कुनै बेला त्यता पनि डोर्यायो भने त जानै पर्छ, तर भरसक उच्च तहमा नजाऊँ भन्ने नै छ,’ उनी भन्छन्।
***
विपीले देखाएको मार्गचित्र मुखले जति व्याख्या गरिन्छ, व्यवहारमा विस्तारै पलायन भइरहेको छ, खै कता पुगेको छ। धर्मराउने स्थितिमा पुगेको प्रजातन्त्र पुनर्जीवित गर्नुपर्छ भन्ने अभियान सिद्धार्थको प्राथमिकतामा परेको छ।
‘सान्दाजु (गिरिजाबाबु) जहिले पनि प्रजातन्त्रको कुरा गरिरहनुहुन्थ्यो,’ उनी भन्छन्, ‘आज त्यही सम्झिरहेको छु।’
गिरिजाबाबुले प्रजातन्त्रका कुरा गर्दा उनी सानै थिए, त्यति धेरै बुझेका थिएनन्। तर चाखपूर्वक सुन्थे । मनन गर्थे।
त्यसैले पनि हुनसक्छ उनले उच्च शिक्षा राजनीतिशास्त्रमै लिए। राजनीतिमा ध्यान हुँदाहुँदै उनी मुम्बई पुगेछन्। पारिवारीक वातावरणले पनि उनलाई मुम्बईतिर धकेलेको हुनसक्छ।
‘मलाई मुम्बई प्यारो थियो भने म यता आउने थिइनँ होला,’ उनी भन्छन्, ‘त्यहाँ बस्दा पनि नेपालमा फर्किनुपर्छ, राजनीतिमा लाग्नुपर्छ लागिरहन्थ्यो।’
नेपाल फर्किन्छु, राजनीति गर्छु भनेर सोचिरहन्थे। ४२ वर्षको उमेर हुँदा उनी नेपाली राजनीतिमा उदाएका छन्।
***
अहिलेको परिवेशमा राजनीति भन्ने शब्द मात्रले धेरैलाई झस्काउँछ। राजनीतिमा पद, सत्ताका निम्ति जस्तोसुकै घिनलाग्दो चरित्र प्रदर्शन गरिन्छ। अझ राजनीतिलाई बुझ्न खोज्यो भने भ्रष्टाचार र गैरकानुनी गतिविधि अघिल्तिर आइहाल्छन्। गुन्डागर्दी र अपराध राजनीतिक छत्रछायाँमा हुर्किएका छन्।
विभिन्न अध्ययनले अहिले नेपाली राजनीतिलाई सबैभन्दा भ्रष्ट भनेको छ, समाज अमन हुने स्थितिमा पुगेको छ। सिद्धार्थ यसलाई मेटाउन चाहन्छन्।
‘म लिगेसीलाई लिएर हिँड्ने सोच बनाएर लागेको छु,’ उनी भन्छन्, ‘राजनीति विशुद्ध सेवा हो भन्ने सम्झिनुपर्छ।’
सिद्धार्थको विचारमा सेवा जहाँ गर्नुपर्छ त्यहाँ दुःख र तल्लो तहमा रहेका नागरिक छन्, त्यसैले उनले मधेसा नै रोजे। कोइराला परिवारको कुरा गर्दा विराटनगर भनिन्छ, उनले मधेसाबाटै आफ्नो पोलिटिकल क्यारियर बनाउन चाहे।
प्रजातन्त्रप्रेमी नेताको खडेरी छ त के भो! आज उनले गाउँ–गाउँमा प्रजातन्त्रप्रेमी जमात देखेका छन्। यो धारमा युवा, बुढापाका, अधवैंशै सबै छन् भन्ने बुझेका छन् सिद्धार्थले।
‘विपी बिते पनि आज विपी गाउँमा छन्, जिन्दा छन् भन्ने आवाज सुनिरहेको छु,’ सिद्धार्थ भन्छन्, ‘बिपीको जुन सिद्धान्त छ त्यसलाई विशिष्ट किसिमले कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो चाहना छ।’
भोलि कहाँ पुग्छु, कहाँ पुग्छु भन्ने हैन, एक–एक पाइलामा राम्रोसँग सिकेर अघि बढ्ने सोच छ। ‘पदका लागि हैन, राम्रो कामका लागि अघि बढ्ने हो,’ सिद्धार्थको बुझाइ छ।
...
राजनीतिमा युवा चाहिएको छ, त्यस्ता युवा उनी गाउँ–गाउँमा खोजिरहेका छन्। युवा त्यसमाथि सक्षम युवा आउँदैनन् तबसम्म समाजको विकास हुननसक्ने उनको धारणा छ।
‘सिनियरहरूले सपोर्ट गर्नुपर्छ, बाटो देखाइदिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले जति युवा आएका छन् केही बुझेर नै आएका छन्।’
गाउँ–गाउँ डुल्दा जनताको मुहारमा चिन्ता देखेका रहेछन्, त्यसैले पहिले जनताको मन जित्न सेवामूलक राजनीति गर्ने अठोट गरेका छन्।
‘पटक–पटक भनेको छु, म केही दिनका लागि नै आएको हुँ राजनीतिमा,’ उनले अझ मजाले प्रष्ट्याए, ‘नेपाली जनताको अनुहारमा देखिएको चिन्ता मेटाउने अभियानमा छु।’
...
सिद्धार्थ निम्न माध्यमिक तहको पढाइदेखि नै भारत गए। बनारस बसे, दिल्ली बसे, मुम्बई बसे। बलिउडमा १२/१३ वर्ष बिताए । नायक भएर अभिनय गरे। निर्देशन पनि गरे।
भारतमा उच्च शिक्षा पढ्ने सिलसिलामा फोटोसेसन गर्दागर्दै मोडल भए। मोडलिङतिर लागे। दिदी मनिषा पनि कलाकारिता क्षेत्रमै क्रियाशील थिइन्। १८ वटा जति चलचित्रका स्क्रीप्ट पनि लेखे।
कोइराला परिवार आफैंमा सक्षम थियो, त्यसैले पनि जे गर्दा पनि सहयोग हुन्थ्यो।
‘खुला हृदय भएको परिवार भएकाले जे गर्दा नि सहयोग हुन्थ्यो,’ सिद्धार्थ भन्छन्, ‘जता जे गरे नि नेपाल आउँछु, समाजसेवा गर्छु भन्ने नै थियो।’
दिदी मनिषा पनि नेपाल फर्किइन् तर उनी राजनीतिमा आइनन्। दिदी पनि राजनीतिमा आएको भए राम्रो हुन्थ्योजस्तो लाग्छ सिद्धार्थलाई।
...
हुन त सिद्धार्थ पाँच वर्षअघि नै धेरैजसो नेपाल आएर बस्ने गर्थे। आउजाउ बाक्लिन थालेको थियो।
काभ्रेमा कफी खेती छ ५२० रोपनीको। साथीभाइ छन्, साझा किसिमको छ। हजुरआमा सुशीला कोइरालाका नाममा काठमाडौंमा एउटा आर्ट एकेडेमी स्थापना गरे।
‘सुशीला आर्ट एकेडेमी’ जहाँ, म्युजिक, डान्स, आर्ट सिकाइन्छ। पिएचडी गरेका बरिष्ठ गुरुहरू छन्।
सुशीलाको इच्छा रहेछ, त्यसैले उनले त्यो सपना पूरा गर्न कम्मर कसे। सिद्धार्थको बुझाइमा जबजसम्म क्लासिकल टिचिङमा विश्वास गरिँदैन तबसम्म मान्छेलाई केही गर्न धेरै गाह्रो हुन्छ।
‘यो यस्तो क्षेत्र हो जहाँबाट मान्छेको जीवन सक्षम हुन्छ, बोल्ने, हाँस्ने, व्यवहारको विकास हुन्छ,’ उनी भन्छन्, ‘म आज जसरी हिँडिरहेको छु त्यसको पछाडि पनि यही छ।’ भूकम्पपीडितका निम्ति पनि काम गरे। लोकजीत नेपाल भन्ने एउटा गैरसरकारी संस्था छ त्यसमार्फत उनले समाजमा दुःख पर्दा सहयोग गर्ने गर्ने सोच बनाएका छन्।
काठमाडौंमै निकै लामो समय सक्रिय थिए, काठमाडौंबाट सुनसरी आवतजावत गर्थे। कोइराला निवास विराटनगर आउने जाने गर्थे। कोइराला निवास भन्नेवित्तिकै धेरैले कान ठाडा पार्छन् तर सिद्धार्थको सक्रियताबारे कसैले सुइँको पाएन।
सुनसरी जान्छन्, साँझ पर्दा विराटनगर। कोइराला निवासमै बस्छन्। आफ्ना पिता पुर्खाले जसरी कोइराला निवासलाई राजनीतिको मियो बनाएका थिए, त्यही शैली सिद्धार्थले अपनाउने तरिका देखाएका छन्।
नेपाल फर्किएर उसमाथि राजनीतिमा लाग्दा खुबै रमाइलो लागेको रहेछ। अझ गाउँ–गाउँका जनतासँग घुलमिल हुँदा उत्साहित छन्। राजनीतिमा धेरै संघर्ष गर्न बाँकी छ त्यो समयले विस्तारै पूर्ति गर्ने उनको विश्वास छ।
‘धेरै लामो समयपछि घर फर्किंदा कस्तो हुन्छ?,’ सिद्धार्थ भन्छन्, ‘अहिले मलाई त्यस्तै महसुस भइरहेको छ।’