मधेसी मोर्चाको अवरोधका कारण सदरमुकाम जलेश्वर लगायत गाउँहरुमा नेपाली कांग्रेस महोत्तरी चुनावी चहलपहल ठप्प छ।
महाधिवेशन नजिकिएसँगै जिल्ला दौडाहामा निस्किएका कांग्रेस नेताहरु गाउँ जान सकेका छैनन्। उनीहरु पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फका पहाडी बाहुल क्षेत्रमा गए पनि सदरमुकाम जलेश्वरसहितका गाउँ जान नसकेका कारण जिल्ला, क्षेत्र, नगर हुँदै गाउँसम्म चुनावी चहलपहल बढेको छैन।
मधेसमा जारी आन्दोलनका कारण नेताहरु दक्षिण भेगमा छिर्न नसकेका हुन। देश दौडाहामा निस्किएका कांग्रेस केन्द्रीय नेताहरु राजमार्ग आसापासमै सभा गर्दै फर्कने गरेका छन्। महाधिवेशनका बेला पनि मधेसका अधिकांश क्षेत्रमा कांग्रेसको गतिविधि ठप्प छ।
मधेसी मोर्चाले संविधानमा हस्ताक्षर गर्ने दलका नेतालाई जिल्ला प्रवेशमै रोक लगाउने भनेपछि ठूला दल सीमित क्षेत्रमा खुम्चिन बाध्य भएका हुन्।
दैनिक हुने विरोध प्रदर्शन, मुठभेड हुन सक्ने सम्भावना आदिका कारण अधिवेशनका लागि निर्वाचन कार्यालयसम्म सदरमुकाममा राख्न सकेको छैन।
मोर्चाले संविधानमा हस्ताक्षर गर्ने राजनीतिक दलका गतिविधि जिल्लामा हुन नदिने निर्णय गरेको छ। गाउँ, क्षेत्र र जिल्ला अधिवेशन सुरु हुने बेलासम्म पनि आन्दोलन नटुंगिएपछि कांग्रेसको गतिविधि आन्दोलनको असर नरहेको पूर्वपश्चिम राजमार्ग केन्द्रीत भएको छ।
निर्वाचन क्षेत्र नम्बर १मा गाउँ र क्षेत्रीय अधिवेशन गर्न चुनौति रहेको नेपाली कांग्रेसका सभापति महेन्द्र कुमार रायले बताए। 'अवरोध पुर्याउने हल्ला सुनेका छौं। तरपनि पार्टीका साथीहरू अधिवेशनको तयारीमा जुटिसक्नुभएको छ,' उनले भने।
अनावश्यक मुठभेडको अवस्था नआओस भन्नेमा सतर्कता अपनाएको उनले जानकारी दिए।
सभापति रायले भने,'मोर्चाले आपनो काम गर्छ,हामी आफनो काम गर्छौ। गाविस र नगरहरुमा कार्यकर्ता भेला, छलफल र बैठकहरु हुन थालेका छन्, कसैले भनेर रोकिँदैन।'
६ निर्वाचन क्षेत्र, तीन नगरपालिका तथा ६५ गाविस भएको महोत्तरीमा कांग्रेसका ७ हजारबढी क्रियाशील सदस्य छन्।