संविधान संशोधनले पनि तराई आन्दोलनलाई सम्बोधन नगरेको निष्कर्षसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बृहत् मोर्चा गठन गर्ने तयारी थालेको छ। संघीयतावादी, पहिचानवादी र आन्दोलनरत् सबै राजनीतिक दललाई एकबद्ध गरेर अहिले भइरहेको आन्दोलनलाई ब्यापक बनाउने मोर्चाको रणनीति छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार सञ्चारकर्मीसँग लामो कुराकानी गर्दै तराईकेन्द्रित आन्दोलनलाई विस्तार गर्दै पहाड र राजधानीसम्म पुर्याउन बृहत् मोर्चा गठनको प्रयास भइरहेको बताए। ‘जसका निम्ति संविधान संशोधन गरियो त्यो पक्षकै असहमतिका बीच पारित पनि गरियो,' यादवले भने, ‘पहिचानवादी, संघीयतावादी र अहिले जति पनि आन्दोलनरत् पक्ष छन् ती सबैलाई एकबद्ध गरेर अगाडि जान्छौं, आन्दोलनलाई ब्यापक बनाउँछौं।'
सद्भावना अध्यक्ष महतोले महागठबन्ध बनाउने भनिरहेका बेला यादवले बृहत् मोर्चाको कुरा उठाएका हुन्। महतोले महागठबन्धन बनाएर आन्दोलनलाई थप बलियो पार्नुपर्ने बताएका थिए। मोर्चामा अहिले ९ वटामात्र दल छन्। यादवले कुन कुन पार्टी आउँछन् भन्ने केही नखुलाइकन विचार र भावना मिल्ने शक्तिहरू मोर्चामा आउने बताए।
वार्ता र छलफल उत्कर्षमा पुगेका बेला सरकारले जनता मार्ने काम गर्ने गरेको भन्दै यादवले अब सरकारसँग वार्ताको कुनै सम्भावना नरहेको पनि बताए। ‘यो सरकार रहेसम्म देश र जनताको हित हुँदैन, यो सरकारले जनताको माग सम्बोधन गर्न सक्दैन,' उनले भने, ‘एककिसिमले धमिरा लागेर ढल्न लागेको छ, जति चाँडो ढल्यो त्यति नै राम्रो हुन्छ।'
यादवले संविधान संशोधन गर्दा आन्दोलनरत् दल सहमति लिनुपर्नेमा त्यसो नगरी एकलौटी गरिएको आरोप लगाए। ‘संविधान संशोधनको औचित्यता र जीवन्ततालाई उहाँहरूले गलत साबित गर्नुभएको छ,' उनले भने, ‘मुलुकको आवश्यकता र जनताको हितभन्दा सत्तापक्षको दम्भ र महत्वकांक्षा मात्र पूरा गरिएको छ।'
उनले जातीय जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र प्रदेशलाई अधिकतम् स्वायत्तता दिनुपर्ने माग गरे। उनले प्रदेशको बाँडफाँड सही र सन्तुलित हुनुपर्ने बताए। ‘यो नहुञ्जेलसम्म आन्दोलन चलिरहन्छ, पञ्चायत फाल्न पनि ३० वर्ष लागेको थियो,' यादवले भने।
रंगेली रणसंग्राम राज्य आतंकको नमूना रहेको भन्दै यादवले उच्चस्तरीय न्यायिक छानविन आयोग गठन हुनुपर्ने बताए। उनले युवा संघका कार्यकर्ताले खुकुरी, तरबार बोक्दा स्कर्टिङ गर्ने प्रहरीले जनताले लाठी बोक्दा गोली चलाएको आरोप लगाए। ‘जब वार्ता सकारात्मक हुन्छ, तब जनता मार्ने काम हुन्छ,' उनले भने, ‘यसको मतलब सरकार गम्भीर छैन, उसले मुलुकलाई निकास दिन चाहेको छैन भन्ने पुष्टि गरेको छ।'
मुलुक तस्कर र कालोबजारीयाको कब्जामा पुगेको भन्दै यादवले यो मुलुकलाई संकटबाट पार लगाउने र जनताका माग पनि पूरा गर्ने दोहोरो जिम्मेवारी राष्ट्रवादी शक्तिले लिनुपर्ने बताए। उनले माफिया र तस्करले यसैगरी कब्जामा लिए मुलुक असफल राष्ट्र बन्ने चेतावनी दिए।
‘संस्थागत भ्रष्टाचार सुरु भएको छ, अहिले सरकारले तस्करलाई गार्ड दिएको छ,' यादवले भने, ‘कुनै पनि समस्या समाधान गर्न यो सरकारले सक्दैन, त्यसैले यो हटिहाल्नुपर्छ।' वीरगञ्जबाहेक सबै नाका खुला हुँदा आएका सरसामान कहाँ गइरहेको छ भन्दै उनले प्रश्न गरेका छन्।
‘वीरगञ्ज नाकामा हाम्रो अबरोध छ, अन्त कतै छैन, नाकाबन्दी छैन, सबै सामान धेरै नै आइरहेको छ, तर जनताले त्यो सामान पाउँदैनन् भने त्यो कहाँ जान्छ,' उनले भने, ‘सबै तस्करी हुन्छ, विहान तेल आउँछ बेलुका गायब हुन्छ, त्यै चिज बजारमा महंगो दरमा आइपुग्छ।' यादवले कालोबजारी र तस्करीबाट हुने आम्दानी सिधै बालुवाटारसम्म पुग्ने गरेको आरोप लगाए।
अध्यक्ष यादवले भूकम्पपीडित कोषमा जम्मा भएको १० अर्ब रुपैयाँ क्रमशः भ्रष्टाचार हुँदै गएको आरोप लगाए। ‘पालमुनी भूकम्पपीडित मरिरहेका छन्, खोई त्यहाँ कम्बल पुर्याउन सकेको छ?,' यादवले भने, ‘सरकार आफैंले संविधान उल्लंघन गरिरहेको छ, संविधानविपरीत जम्भो मन्त्रिमण्डल बनाइरहेको छ।'