नेकपा एमालेका सचिव योगेश भट्टराईले देश बचेन भने सबै पार्टीको अस्तित्वसमेत समाप्त हुने बताएका छन्।
एमाले अगुवा कार्यकर्ता भेलालाई बैतडीमा सम्बोधन गर्दै सचिव भट्टराईले पार्टीभन्दा देश ठूलो भएकाले देशको रक्षामा लाग्नुपर्ने बताए। पार्टी भने अस्थायी भएको र यो देश बचे मात्रै पार्टी बच्नेछ उनले भने, “अहिले देशको रक्षाका निम्ति सबैले लाग्नुपर्नेछ ।”
केन्द्रीय कमिटी सचिव तथा प्रचार विभाग प्रमुख देशमा स्थिरता कायम गर्न तथा सङ्क्रमणकालको अन्त्यका लागि नयाँ संविधान आएको बताउँदै भट्टराईले आफ्नो पार्टीको शान यसैमा रहेको दाबी गरे। “देशमा रहेका समग्र समस्यालाई हल गर्नका लागि नयाँ संविधान बनेको हो”, उनले भने, “नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान रहेको छ ।”
उनले संविधानले सबै जातजाति, भाषाभाषीका अधिकार सुनिश्चित गरेको दाबी गरे। समानुपातिक समावेशी चरित्रको संविधानको कसैले विरोध गर्न नहुनेमा उनले जोड दिए। मधेसमा भइरहेको आन्दोललाई लक्षित गर्दै एमाले सचिव भट्टराईले आन्दोलनबाट समस्याको समाधान नहुने भएकाले वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेका छन् । रासस