प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दीका कारण सरकार अप्ठ्यारो स्थितिमा पुगेको दु:खेसो पोखेका छन्। एमाले संसदीय दलको मंगलवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण दैनिक जनजीवन अस्तव्यस्त बनेको र कालोबजारी मौलाएको भन्दै भारतीय नाकाबन्दीले अप्ठ्यारोमा पारेको दु:खेसो पोखेका हुन्।
प्रधानमन्त्री ओलीले नाकाबन्दी खुलाउने विषयमा भारतसँग पटक पटक कुराकानी भएको तर सोचेअनुरुप नाका सहजरुपमा खुल्न नसकेको जानकारी बैठकमा सांसदहरुलाई गराएको उनको भनाई उधृत गर्दै एक नेता सेतोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास बैठकमा दिलाएको उनले बताए ।
ओलीको भनाई उधृत गर्दै उनले भने–‘नाकाबन्दी र मधेसमा जारी आन्दोलनलाई कसरी सुल्झाउने भन्ने विषयमा पनि उहाँ गम्भीर देखिनु भएको थियो। मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले नै प्रमुख तीन दलले कार्यदल बनाएको जानकारी पनि दिनु भयो । मधेसीहरुसँग पनि केही दिनमै कुरा मिल्ने उहाँ विश्वास व्यक्त गर्नु भएको छ।’
बैठकमा ओलीले मधेसवादी दलको आन्दोलनका कारण तराईमा परेको असर र नाकाबन्दीका कारण उत्पन्न परिस्थितिबारे लामो समय बोलेका थिए।
माघ २ पछि पूनर्निर्माणको काम तिव्र गतिमा
प्रधानमन्त्री ओलीले आउँदो माघ २ गतेपछि गत बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण काम अगाडि बढाउने बताएका छन्। ओलीले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माणका लागि आफूले पुनर्निर्माण प्राधिकरणलाई काम तिब्र गतिमा अगाडि बढाउने गरी तयारी गर्न निर्देशन समेत दिइसकेको वताएका थिए।
ओलीले तत्कालका लागि लोडसेडिङ घटाउने विषयमा आफूले सोचिरहेको र यसबारे सरकारले छिट्टै निर्णय लिने बताएका थिए।
सबै उत्कृष्टलाई समेट्न सकिएन
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका तर्फवाट चारजना राज्यमन्त्री नियुक्त गर्दा सबै सक्षम सांसदहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । ‘धेरै साथीहरु राज्यमन्त्री बन्न सक्षम र उत्कृष्ट हुनुहुन्थ्यो । तर छिटो नियुक्त गर्नु पर्ने भयो । त्यसैले सबै उत्कृष्ट साथीहरुलाई समेट्न सकिएन, ओलीको भनाई उद्रित गर्दै ती नेताले भने।’
मधेसीसँग छिट्टै कुरा मिल्छ : रावल
बैठकमा उपाध्यक्ष एव् उपप्रधान तथा रक्षामन्त्री भीमवहादुर रावलले वर्तमान समस्याको समाधानका लागि आन्दोलनरत मधेसी मोर्चासँग छलफल जारी रहेको र त्यसलाई अझै तिब्रता दिने जानकारी गराएका थिए।
रावलले छिटो समस्या समाधान गर्न प्रमुख तीन दलले तीन सदस्यीय कार्यदल बनाएको र मधेसी मोर्चाले पनि आफ्नो तर्फवाट तीन जना सदस्यको नाम पठाएको जानकारी दिएका थिए । उनले कार्यदलको बैठकमा मधेसी मोर्चाले उठाएको ११ बुँदे मागबारे छलफल गरेर सहमति जुटाउने प्रयास भोलिदेखि नै सुरु हुने बताएका थिए।
उनले मुलुकमा जारी संकटको समाधान सकेसम्म छिटो हुनेमा विश्वस्त रहन सांसदहरुलाई आग्रह गरेका थिए। वैठकमा अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो मन्त्रालयले गरिरहेको कामकारबाहीबारे सांसदहरुलाई जानकारी गराएका थिए।