सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको प्रभावकारी कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटामा अगाडि बढाउनुपर्ने बताएका छन्।
हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको विभिन्न व्यक्तिको तस्बिरअङ्कित हुलाक टिकटमा आज प्रथम टाँचा लगाउँदै उनले सरकारको अबको कार्यसूची भनेको संविधान कार्यान्वयन तथा पुनःनिर्माणसँगै राष्ट्रनिर्माण भएको बताए।
विभागले राजनीतिज्ञ गणेशमान सिंह र नगेन्द्रप्रसाद रिजाल, युगकवि सिद्धिचरण श्रेष्ठ, समाजसेवी देवीप्रसाद उप्रेती, अर्थशास्त्री यादवप्रसाद पन्त र सहिद श्रीप्रसाद पराजुलीको तस्बिर अङ्कित टिकट प्रकाशन गरेको हो।
विभागले पछिल्लो पटक प्रकाशन गरेको छ टिकटसहित सन् २०१५ मा नेपालको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदालगायत संस्मरणात्मक ५३ टिकट प्रकाशन गरेको छ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव कविराज खनालले विभिन्न व्यक्तित्वको सम्मानस्वरूप प्रकाशन गरिँदै आएको टिकटलाई आगामी दिनमा निरन्तरता दिइने बताए। विभागका महानिर्देशक द्रोण पोखरेलले आगामी वर्ष अर्थात् २०१६ मा पनि विविधता एवम् गुणस्तरयुक्त हुलाक टिकट समयमा प्रकाशन गर्नका लागि तत्परताका साथ लागिपर्ने विश्वास दिलाए। रासस