चार महिनादेखि बन्द रहेको सदरमुकाम परासीसहित दक्षिणी भेगका बजार र यातायात सेवा आजदेखि सञ्चालनमा आएका छन्।
मधेसी मार्चाले सर्वसाधारणको समस्यालाई दृष्टिगत गरी बन्दलाई खुकुलो पारेपछि लामो समयदेखि बन्द रहेका बजार र यातायातका सवारी साधन सञ्चालनमा आएका हुन्। बन्द खुकुलो भएसँगै मुख्य बजार बेलाटारी, जमुनिया, महेशपुरसहित अधिकांश दक्षिण क्षेत्रका बजार, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र यातायात सञ्चालनमा आएका छन्।
बन्द खुकुलो भई बजार र यातायात सञ्चालनमा आएपछि सर्वसाधारणले केही भए पनि राहतको महसुस गर्न थालेका छन्।
यद्यपि मोर्चाले नाका केन्द्रित आन्दोलन भने जारी राख्ने बताएको छ। मोर्चाले नवलपरासीमा मौलाउँदै गएको पेट्रोलियम पदार्थको कलोबजारी रोक्ने अभियान चलाएको जनाएको छ। जारी संविधानप्रति असहमति जनाएको मोर्चाले चार महिनादेखि परासीसहित सबै ग्रामीण क्षेत्रमा बजार, उद्योग, कालकारखाना र यातायात बन्द गराउँदै आएको थियो। रासस