मधेस आन्दोलन र त्यसको समर्थनमा भएको भारतीय नाकाबन्दीबारे भारतीय संसदमा यसअघि नै बहस चले पनि यस विषयमा नेपालको संसदमा बहस चलाउने अहिले अनुकूल अवस्था नभएको सभामुख ओनसरी घर्तिमगरले बताइन्।
संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग आइतबारको संसद बैठकपछि कुरा गर्दै सभामुख घर्तिमगरले देशले भोगिरहेको भारतीय नाकाबन्दीबारे सदनमा बहस चलाउन सरकारे पहल गरे पनि संसदको बैठक निरन्तर अवरोधका कारण बहसका लागि अनुकूल समय हुन नसकेको बताइन्। सदन अबरोध भइरहेको हुँदा अनुकूल समयमा यस विषयमा सदनमा छलफल हुन्छ तर अहिले हामी सबैका ध्यान मुलुकले भोगीरहेको समस्या समाधानमा केन्द्रीत हुनु पर्छ,’ उनले भनिन्।
तराई मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश र जनताले विगत चार महिनादेखि बेहोर्दै आएको आपूर्ति समस्या समाधानका लागि राजनीतिक दल र सरकारबीच भएको सहमति अनुसार संसदमा पेश भएको संविधानको पहिलो संशोधन विधेयकमाथि सोमबारदेखि सैद्धान्तिक छलफल शुरु हुने पनि उनले बताइन्।
आजको बैठकमा सत्तापक्षकै सदस्यहरु समेत न्यून उपस्थित हुँदा बैठकको कोरम नपुग्दा उक्त विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल हुन नसकेको बताउदै सभामुख घर्तिमगरले भनिन्, भोलिदेखि विधेयकमाथि छलफल शुरु हुन्छ।
उनले पुर्ननिर्माण विधेयक पारित गर्दा जस्तै संविधानको सफल कार्यन्वयनका लागि सबै राजनीतिक दलहरुबीच सहमति र सहर्कायका आधारमा यो विधेयक अघि बढाउन आफू लागि पर्ने पनि बताइन्।
उक्त अवसरमा राजनीतिक दलहरुबीच वार्ता र सहमतिद्धारा मुलुकको समस्या समाधान गर्न संविधान संशोधन मार्फत मुलुकलाई निकास दिन सक्रिय भूमिका निर्वाह सभामुखलाई आग्रह सहित रिपोर्टस् क्लबले ज्ञापन पत्र बुझाएको थियो।