भारतका पूर्व केन्द्रीय मन्त्री डा.रधुवंश प्रसाद सिंहले मधेश आन्दोलनलाई पूर्णरुपले सहयोग गर्ने बताएका छन्।
महोत्तरीको मटिहानीसँग जोडिएको भारतीय बजार मधवापुरमा आयोजित नेपाल भारत मैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दैलालु प्रसाद यादव नेतृत्वको भारतीय राष्ट्रिय जनता दल (आरजेडी)का राष्ट्रिय उपाध्यक्ष एवं नेपाल भारत मैत्री यात्राका संयोजक डा.रघुवंश प्रसाद सिंहले मधेश आन्दोलनलाई सहयोग गर्न पुर्ण रुपले तयार रहेको बताएका हुन्।
उनले जारी मधेश आन्दोलनलाई समाधानका लागि नेपाल र भारत दुवै देशलाई दबाब दिने बताए।
नेता सिंहले नेपालको मधेशमा विगत ४ महिना बढीदेखि जारी आन्दोलनले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रलाई धराशायी बनाएको ठहर गर्दै दुवै देशका सरकारलाई दबाब दिने बताएका हुन्।
उनले भारत र नेपालको सधैंभरि बेटीरोटीको सम्बन्ध रहको तर केही नेताहरुले जानीजानी तराई मधेशमा बस्ने लाखौँ भारतीय चेलीलाई नागरिकता र देशको संवैधानिक अंगबाट बञ्चित गरेर सम्बन्ध बिगार्न खोजेकोले चुप नबस्ने र हाम्रो आफ्नै चेलीबेटीका लागि पनि हामी दुवै देशको सरकारलाई चाँडो भन्दा चाँडो मधेश आन्दोलनलाई सम्बोधन गर्न बाध्य पार्ने बताए।
नेता सिंहले नेपालको मधेसीमाथि राज्यद्वारा चरम विभेद भइरहेको र यस विभेदलाई अन्त्य गर्न भारतले हदैसम्म सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे।
नेता सिंहले आफ्नो पार्टी भारत सरकारसँग तुरुन्त मधेसीको पीडाप्रति संवेदनशील भई नेपालसँग यस समस्याको समाधानका लागि पहल गर्न माग गर्ने र नभए मधेसदेखि काठमाडौंसम्म पैदल मार्च गरेर नेपाल सरकारलाई मधेशीको माग पूरा गराउन यात्रा गर्ने बताए।
उनले नेपाल भारत सिमाको १८ सय किलो मिटर बङ्गालदेखि उत्तराखण्डसम्म मधेश आन्दोलनलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह समेत गरे।
उनले केन्द्र सरकार, विपक्षी दलका नेता, विभिन्न प्रमुख दलका नेताहरु, बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका सरकारलाई जारी मधेश आन्दोलनलाई सहयोग गरी नेपालका मधेशी जनताको अधिकार सुनिश्चित गर्न आग्रह समेत गरे। पछिल्लो निर्वाचनपछि बिहारमा लालु प्रसाद यादवको आरजेडी र नितिस कुमारको जनता दल युनाइटेडको गठबन्धनले सरकार चलाइरहेको छ। नाकाबन्दी खुलाउन नितिशकुमार नेतृत्वको सरकारले भूमिका निर्वाह गर्ने अपेक्षा नेपालमा भइरहँदा बिहारको सत्तासाझेदार दलका एक प्रमुख नेता सिंहले यस्तो अभिव्यक्ति दिएका हुन्।
कार्यक्रममा भारतका एक दर्जन बढी नेताहरुले मधेस आन्दोलन जायज रहेको र यसलाई भारतले हर-सम्भव सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपालका तर्फबाट पूर्व कृषि मन्त्री हरि नारायण यादव, पूर्व सूचना तथा संचार राज्यमन्त्री सुरिता साह र महोत्तरीबाट विभिन्न मधेशवादी दलका केन्द्रीय तथा जिल्ला स्तरीय दुई दर्जन भन्दा बढी नेताहरुको सहभागिता रहेको थियो।