बहुप्रतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
खुल्ला प्रतिस्पर्धाबाट नगर विकास कोषको कार्यकारी निर्देशक बनेका ज्ञवालीलाई डेढ वर्ष कार्यकाल बाँकी छँदै सरकारले बहुपतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
स्थानीय निकायमा २० वर्षे अनुभव बटुलेका ज्ञवाली सिभिल इञ्जिनियर हुन् ।
यसैगरी पुनर्निमाण प्राधिकरणको कायममुकायम सचिवमा मधुसुदन अधिकारीलाई पठाइएको मन्त्री राईले बताए ।
योजना आयोगमा सात सदस्य नियुक्त
यसैगरी मन्त्रिपरिषदको बैठकले योजना आयोगमा रित्त रहेका सात सदस्य पदपूर्ति गरेको छ। मन्त्रिपरिषद बैठकले आयोगको सदस्यउमा डा. विजय कुँवर, कामानन्द देव, डा.सुमित्रा अमात्य, डा.गीताभक्त जोशी, डा. चन्द्रकान्त पौडल, डा.सुनील बाबु श्रेष्ठ र कृपासिन्धु प्रसादलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राईले जानकारी दिए।
१२ सचिवको सरुवा
मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको पनि सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई विज्ञान तथा प्रविधि, सहरी विकासका अर्जुन कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात, वातावरण मन्त्रालयका कृष्णचन्द्र पौडेललाई पशु विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा रहेका दीपेन्द्रनाथ शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको सञ्चारमन्त्री राईले जानकारी दिए ।
यसैगरी क्षेत्रीय प्रशासक महेश दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालयका विजय मल्लिकलाई जनसंख्या तथा वातावरण, सूचना तथा सञ्चार प्रविधिका सुनिलबहादुर मल्ललाई सतर्कता केन्द्र, सतर्कता केन्द्रका सुरेशप्रकाश आचार्यलाई खानेपानी तथा सरसफाई मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, लोकसेवाका विष्णु लम्साललाई आपूर्ति मन्त्रालय, पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका राजेन्द्र नेपाललाई महालेखा नियन्त्रण कार्यालय र महलेखा नियन्त्रकको कार्यालयका रमेश शर्मालाई सार्वजनिक खरिद ऐनमा सरुवा मन्त्री राईले बताए।
मन्त्रिपरिषदको बैठकले कामु सचिवको जिम्मेवारी दिएर महेन्द्रमान गुरुङलाई पूर्वाञ्चल क्षेत्रीय प्रशासक बनाएको छ । यस्तै कामु सचिव लक्ष्मी ढकाल मध्यमाञ्चलमा, शशी शेखर श्रेष्ठलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक, शंकर कोइरालालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक र चन्द्र घिमिरेलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासक बनाएर पठाएको छ ।