नेकपा क्रान्तिकारी माओवादीका संगठन व्यूरो सदस्य रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भारतको इशारामा चलेको आरोप लगाएका छन्।
पार्टीको थारुवान राज्य समितिले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले भारतको विपक्षमा उभिएका जतिलाई पत्रकाट्नुले त्यही पुष्टि हुने ठोकुवा गरे। नेता थापाले भने ‘ अख्तियार दक्षिणको इशारामा संचालित भयो, यो पुरै राजनीतिक कदम हो।’ उनले नेकपा एमालेका माधव कुमार नेपाल पक्षधर, एमाओवादी भित्र प्रचण्ड पक्षधर र नेपाली काँग्रेस भित्र अमेरिकी लवी भएका (भोजराज घिमिरे अधिकारकर्मी कनकमणि दिक्षित) व्यक्तिहरू अख्तियारको तारो वनाउन खोजिएको बताए।
पत्रकार सम्मेलनमा थापाले भने ‘भारत अझै खतरनाक चाल चल्दैछ, हाम्रो व्यूरोक्रेसी र राजनेताहरूलाई ववार्द पारेर अब भारत नेपालको अदालत र सेनालाई बर्बाद पार्न खोजिरहेको छ।’ उनले यहाँका दल र नेताहरू समयमै सचेत नहुने हो भने देश भारतको चक्रव्यूहुमा पर्ने खतरा औंल्याए।
नेपालको स्वतन्त्रतामा मुख्य बाधक भारत भएको दाबी गर्दै नेता थापाले भारत नै नेपालको बिकासको वाधक भएको टिप्पणी गरे। भारतीय शासक वर्गले नेपाललाई सधैँ आफ्नो अधिनमा राख्न खोजेकोले त्यसको विरुद्ध नेपाली एक जुट भएर सामना गर्नुपर्ने उनको धारणा थियो। नेपालको आन्तरिक राजनीति र सिमानाकाको स्वतन्त्रतामा समस्या थुपारेर संकट निम्त्याउने भारतीय रवैया स्वीकार्य नहुने थापाले बताए । 'सधैँ आफूमाथि झुक्न बाध्य पार्ने रणनीतिमा भारत लागेको छ त्यो कदापी स्वीकार्य छैन’ उनले भने।
फरक प्रसंगमा उनले एकीकृत नेकपा माओवादीसँगको पार्टी एकीकरणको कुरा चलिरहेपनि निश्चित दिशा भने लिन नसकेको बताए। थापाले भने ‘नयाँ संविधान र पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर दुई पार्टीबीच कुरा मिलिसकेको छैन। प्रचण्डजीहरू नयाँ संविधानलाई ठूलो उपलब्धि मान्नुहुन्छ, जनआन्दोलनको मर्म र भावना समेटिएको दाबी गर्नुहुन्छ तर हामी छैन भन्दै आएका छौं।’ नेता थापाले यदि कुनै दिन यही बुझाईमा कुरा मिलेमा पार्टी एक हुने धारणा राखे।
नयाँ शक्तिका संयोजक डा.बावुराम भट्टराई दाङ आउनुभन्दा अघिल्लो दिन शनिवार नै दाङ आएका थापाले नयाँ शक्तिको पनि आलोचना गरेका छन्। उनले भने ‘ बाबुरामको नयाँ शक्ति निर्माण हुनै सक्दैन। अझ यो वामपन्थी त हुँदै होइन। गैर माक्सवाद सिद्धान्तलाई नयाँ शक्तिले तिलाञ्जली दिइसकेको छ।’ नेता थापाले बरू पार्टी एकीकरणपछि आफ्नो पार्टी नै सच्चा बामपन्थी र नयाँ शक्ति बनेको दाबी गरे।
अाजै भट्टराईले नयाँ शक्ति गठनको शिलशिलामा घाराहीको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।