कुडारी गाविस वडा नं ९, ढिम्कोट गाउँ अब छाउपडीमुक्त गाउँका रुपमा घोषित भएको छ ।
सेफ एबर्सन एक्सन फन्डको सहयोग, एक्सन वक्र्स नेपालको सहजीकरण तथा कालिका मितेरी महिला समूह, ढिम्कोटको आयोजनामा सो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको हो ।
झन्डै साढे दुई वर्षको लामो प्रयासपछि उक्त गाउँलाई छाउपडी मुक्त घोषणा गर्न सफल भइएको एक्सन वक्र्स नेपालका तालिम तथा क्षमता विकास अधिकृत सुमन पाठकले जानकारी दिए। अधिकृत पाठकका अनुसार ढिम्कोट अब जुम्ला जिल्लाको नमुना गाउँमा परिणत भएको छ ।
अहिले गाउँका सबै महिला छाउ हुँदा गोठमा बस्दैनन् । ४१ घरधुरी भएको उक्त गाउँलाई छाउपडी मुक्त बनाउन पुरुषको अधिकतम सकारात्मक सहयोग रहेको अधिकृत पाठकको भनाइ छ ।
छाउ भएको समयमा महिलाहरु गोठमा बस्दा हिंसाको सिकार हुनुपर्ने बाध्यताबाट सदाका लागि मुक्त भएको मितेरी समूहका अध्यक्ष कालिका शाहीले बताइन्। सार्वजनिक कार्यक्रमबाट ढिम्कोटलाई छाउमुक्त गाउँ घोषणामा सहयोग पुर्याउने संस्था एक्सन वक्र्स नेपाललाई अध्यक्ष शाहीले धन्यवाद दिए।
कुडारी स्वास्थ्य चौकीका इन्चार्ज तिलकबहादुर शाहीले सदियौँदेखिको परम्परागत हिंसाबाट मृत्युवरण गरेका महिलाले अबबाट मुक्ति प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले सहयोगी संस्था एक्सन वक्र्स र छाउमुक्त गाउँ बनाउन विशेष योगदान पुर्याउने कालिका शाहीलाई बधाई ज्ञापन गरे।
यो कार्यक्रममा कुडारी–५ जुम्लाका समाजसेवी प्रदीप शाहीले महिलामाथिको दमन र हिंसा गर्ने प्रथाको अन्त्य गरिएकोमा खुसी व्यक्त गरे। यस कार्यक्रमलाई जिल्ला तथा कर्णाली अञ्चलभरि व्यापक बनाउनुपर्नेमा उनको जोड थियो।
सोही गाउँका स्थानीय नरबहादुर शाहीले एक्सन वक्र्स नेपाललाई धन्यवाद दिँदै संस्था एउटा साधन भए तापनि त्यसका लागि गाउँका महिला तथा पुरुष नै यसको साध्य भएको तर्क गरे। आफ्नो गाउँ अन्य गाउँका लागि उदाहरणका रुपमा स्थापित भएकोमा उनले खुसी व्यक्त गरे।
सोही अवसरमा कालिका मितेरी समूहका सम्पूर्ण सदस्यहरुलाई सम्मान गर्नुका साथै मितेरी सिकाइ सम्मेलन सम्पन्न गरिएको सहयोगी संस्थाले जनाएको छ। रासस