आन्दोलनरत मधेसी मोर्चाको अवरोधपछि व्यवस्थापिका संसदको बैठक आइतबारसम्म स्थगित भएको छ।
मोर्चामा आवद्ध दलका सभासदले आधाघण्टासम्म संसदमा नाराजुलस गरेपछि सभामुख ओनसरी घर्तीले २० गते आइतबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइन्।
सभामुख घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उभिएर समय माग गरेका थिए। त्यसपछि उनले कांग्रेसका फरमुल्हा मन्सुरलाई बोल्न समय दिएपछि मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दैं वेल घेराउ गर्न पुगेका थिए।
मोर्चाका सांसदले नाराबाजी गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसदहरु पनि नाराबाजीमा उत्रिएका थिए।
सांसदहरु प्रेम सुवाल र अनुराधा थापामगरले 'आत्मसर्मपण गर्दैनौं, नेपालको संविधानमा हस्तक्षेप गर्ने भारत को हो?, सुनसरीमा गोली हान्ने भारतीय प्रहरीलाई कारबाही गर' जस्ता नारा लगाएका थिए।
उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउ जस्ता नारा लगाएका थिए। मधेसी मोर्चाले सरकार विरुद्ध नारा लगाउँदै 'मधेसी जनतामाथिको दमन अन्त्य गर्न, उनीहरुको माग सम्बोधन गर्न' माग गरेका थिए।