मंगलबारको संसद बैठक पनि आन्दोलनरत मधेसी मोर्चाको विरोधका कारण अवरुद्ध भएको छ।
सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उभिएर समय माग गरेका थिए। त्यसपछि सभामुख घर्तीले कांग्रेसका फरमुल्हा मन्सुरलाई बोल्न समय दिएपछि मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दै बेल घेराउ गर्न पुगेका छन्।
संसदमा नाराबाजी गर्दै गर्दा नेमकिपाका सांसद प्रेम सुवाल र अनुराधा थापामगरले 'आत्मसर्मपण गर्दैनौं, नेपालको संविधानमा हस्तक्षेप गर्ने भारत को हो? सुनसरीमा गोली हान्ने भारतीय प्रहरीलाई कारबाही गर' जस्ता नारा लगाएका थिए।
उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउनसमेत माग गरेका थिए।
मधेसी मोर्चाले सरकार विरुद्ध नारा लगाउँदै मधेसी जनतामाथिको दमन अन्त्य गर्न, उनीहरुको माग सम्बोधन गर्न माग गरेका थिए।
संसदमा अहिले पनि नाराबाजी चलिरहेको छ।