संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमावर्ती क्षेत्रमा अबरोध बढाउने रणनीति बनाएको छ। सोमबार विराटनगरमा भएको मोर्चा बैठकले विराटनगर भन्सार केन्द्रित आन्दोलन सशक्त पार्ने निर्णय गरेको हो।
दसैं, तिहार र छठ पर्वयता नाका अबरोध कार्यक्रम रोकिएको थियो। मोर्चाको अबरोध कम भएसँगै विराटनगर भन्सार अन्य नाकाभन्दा खुकुलो भएको थियो। चाडबाडको समय सकिएकाले अब भन्सार केन्द्रित आन्दोलनलाई मजबुत पार्ने तयारी मोर्चाको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाका अबरोध असहयोग आन्दोलन भएकाले त्यसलाई जारी राख्ने योजना रहेको बताए।'नाका अवरोध असहयोग आन्दोलनको एउटा रुप हो,' बैठकपछि यादवले भने,'यसलाई थप तयारीका साथ अघि बढाउँछौं।' सीमामा अबरोध कम भएपछि पेट्रोलियम पदार्थ, ग्यास र अन्य मालबाहक सवारी आवतजावत सहज हुँदै आएको थियो।
राज्यविरुद्धको असहयोग आन्दोलनमा तराईकेन्द्रित दलका साथै लिम्बुवान, मगरात लगायत समुदायबाट पनि समावेश भएकाले अब आन्दोलन अझै सशक्त हुने यादवले बताए। विराटनगरकेन्द्रित मोर्चाको कार्यक्रम फितलो भएको भन्दै मोर्चा घटकबाटै आफ्नै आधारक्षेत्रमा उपस्थिति न्यून भएको आलोचना यादवमाथि लगाइँदै आएको छ।
सोमबारको बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूको सहभागिता थियो। बैठकले मोर्चा मागबारे सरकार गम्भीर नरहेको निष्कर्ष निकाल्दै आन्दोलनलाई थप व्यवस्थित र मजबुत पार्ने निर्णय गरेको यादवले बताए।' आन्दोलन व्यवस्थित र मजबुत पार्ने भनेको जनप्रदर्शन र बन्द हडताल बढाउने नै हो,' यादवले भने।
मधेस आन्दोलन अधिकारको आन्दोलन भएको र त्यसका निम्ति धेरै जनताको ज्यान गइसकेकाले अधिकारप्राप्त नभएसम्म नरोकिने यादवले बताए। सरकार तस्करी र भ्रष्टाचारीको अखडा खडा गरेर अधिकारका निम्ति लड्ने जनतामाथि गोली बर्साउने रणनीतिमा रहेको यादवले आरोप लगाए।
सरकारसँग यथास्थितिमा वार्ता हुन नसक्ने भएकाले आन्दोलनलाई थप बढाउनुको विकल्प नभएको पनि यादवले बताए। आफूहरु वार्ताबाटै समस्याको निकास खोज्न चाहेकोमा सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन बढाएर कार्यकर्ताको हत्या र झुठो मुद्धा लगाइ फँसाउन केन्द्रित भएकाले वार्ताको वातावरण बिग्रिएको यादवले बताए।'हामी वार्ताबाट पछि हटेका छैनौं र हट्दैनौं पनि,' यादवले भने,'बरु सरकारले वातावरण बिगार्ने गरेको छ।'
वार्ताका लागि वार्ता भनेजस्तो मात्र सरकारले स्पष्ट धारणा नल्याएको यादवले बताए। वार्ताको वातावरण बन्दै गएकोमा सरकारले वीरगञ्ज हमला, सप्तरीमा चार जनाको ज्यान लिएको भन्दै यादवले अहिलेसम्म आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा, क्षतिपूर्ति, औषधिउपचार र गिरफ्तारीमा परेकालाई बिनाशर्त नछोडेसम्म वार्ताको औचित्य नभएको पनि बताए।'निर्दोष कार्यकर्ता मारिएका छन्, पक्राउ गरिएका छन्, झुठो मुद्दा लगाइएको छ,' उनले भने,'हिरासतमा हाम्रा कार्यकर्तालाई निर्मम यातना दिइएको छ।'
आजै टुंग्याउने गरी प्रधानमन्त्री ओलीले वार्तामा बोलाएकामा सरकारले कुनै स्पष्ट धारणा नल्याएकाले बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको यादवले बताए।'अर्को बैठकमा स्पष्ट धारणा ल्याउँछौं भन्ने कुरा आएको छ,' उनले भने,'हामी वार्ताका लागि फेरि जान्छौं।'
मोर्चा नेताहरू विराटनगरकेन्द्रित छ। आइतबार महावीरचोकमा बृहत् आमसभा गरेपछि मोर्चा नेता जिल्लास्तरीय छलफलमा लागेका छन्। बैठकमा सद्भावना अध्यक्ष महतोले गाउँ–गाउँ गएर कार्यकर्ताहरूलाई आन्दोलनको औचित्यबारे बताउनुपर्ने र लाखौंलाख सडकमा उतार्नुपर्ने धारणा राखेका थिए। तमलोपा प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला वार्ताका निम्ति राजधानी गएका थिए। अन्य नेताहरू छलफलमा जुटिरहेका छन्। समाजवादी फोरम अध्यक्ष यादव अझै एक साता विराटनगरै रहनेछन्, त्यहीबीचमा धनुषामा हुने सभालाई सम्बोधन गर्न उनी त्यहाँ जाने कार्यक्रम पनि छ।