गृह मन्त्रालयले नेपाल कम्युनिस्ट पार्टी माओवादीले भारतीय नाकाबन्दीविरुद्ध अाइतबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ उपत्यकामा नपरेको र कुनै पनि अप्रिय घटना नभएको भए पनि उपत्यका बाहिर भने सामान्य प्रभाव परेको जनाएको छ।
मन्त्रालयका अनुसार बन्दका क्रममा ४८ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन्। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले धनगढी र कञ्चनपुरमा बन्दका क्रममा अवरोध गर्ने, जबर्जस्ती बन्द गराउन खोज्ने तथा सार्वजनिक सम्पत्ति तोडफोड छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरी नायब महानिरीक्षक हेमन्त पालले बन्दमा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनी कारबाही गरिने र शान्तिपूर्ण तरिकाले गतिविधि गरेका तथा बन्दको समर्थनमा समातिएकालाई प्रक्रिया पुर्याएर छाडिने बताए।
यसैबीच सोही पार्टीले अाइतबार नाकाबन्दीका कारण मुलुकमा उत्पन्न भएको असहज परिस्थिति तथा जनतालाई परेका मर्कालाई समाधान गर्न सरकालाई अविलम्ब विकल्प खोज्न माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकाबाट शान्तिपूर्ण जुलुस निकालेको थियो।
जुलुस भद्रकाली, सहिदढोका, नयाँसडक हुँदै बागबजार चोकमा आएर कोणसभामा परिणत भएको थियो। जुलुसमा सहभागीले भारत सरकारकाविरुद्ध नाराबाजी गरेका थिए।
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद् शरदसिंह भण्डारीले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले उसको पारवहन अधिकारलाई भारतले नियम विपरीत नाकाबन्दी गरेका कारण जनताले दुःख पाएकाले चाँडो समाधान गर्न सरकारलाई आग्रह गरे।
उनले अहिलेको समयमा ग्यास, पेट्रोल तथा औषधिलगायत उपभोग्य वस्तुमा कालाबजारी गर्ने व्यवसायीलाई नियन्त्रण गरी कारबाहीका लागि सरकारलाई बुझाइने जानकारी दिए। रासस