नेताको भाषण सुन्न दिनभर कुरेका कार्यकर्तामाझ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोल्न नमानेपछि कार्यकर्ता रिसाएका छन्। आइतबार महावीर चोकमा आयोजना गरिएको बिरोधसभामा धेरै कार्यकर्तामाझ प्रमुख वक्ता यादवले समय अभाव भन्दै सभा बिसर्जन गर्न निर्देशन दिए।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले धेरै समय लिएपछि कार्यकर्ता उठेका थिए। कार्यकर्ता उठेको देखेका यादवले आफ्नो पालो आउँदा सभा बिसर्जन गर्न निर्देशन दिएका थिए। तर कार्यकर्ताले अन्तिममा रोकेपछि यादव बोल्न बाध्य पारिए। भाषण सुन्न बस्ने भनेर भीड मञ्चतिर सोझिएपछि यादव बाध्य भएर बोल्न उठेका थिए।
महतोले समय धेरै लिँदा साँझ परिसकेको थियो। यसबीच बारम्बार महतोलाई भाषण टुंग्याउन उद्घोषकले आग्रह गरेका थिए। तर महतोले टेरेनन्। त्यसपछि यादव आफैंले भाषण टुंग्याउन भनेर खबर पठाए तर महतो 'दुई मिनेट' भन्दै अगाडि बढिरहे।
बोल्ने पालो नआउँदा र कार्यकर्ता उठेको देखेका यादव निकै आक्रोशित देखिन्थे। उद्घोषकले बोलाएपछि यादवले अरु केही नबोली समयका कारण सभा बिसर्जन गर्न निर्देशन दिए। गाउँ–गाउँबाट भेला गरिएका कार्यकर्ता घर जान आतुर देखिन्थे।
विरोधसभाको समय दिउँसो १ बजे राखिएको थियो। तर कार्यकर्ता र नेता आइपुग्दा बल्ल तीन बजेमात्र कार्यक्रम सुरु भएको थियो। अन्तिममा बाध्य भएर बोलेका यादवले मधेस आन्दोलनले राष्ट्रिय एकता बलियो बनाउँदै लगेको दाबी गरे।
'सबै जातजाति, आदिवासी, मधेसी आन्दोलनमा छन्,' उनले भने, 'हिमाल, पहाड, तराईका सबै जनसमुदायलाई संविधानमा समान अधिकार नदिएका कारण आन्दोलन गर्नुपरेको हो।'
यादवले मधेसको माग पूरा नहुञ्जेलसम्म आन्दोलन नरोकिने बताए। कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला, संघीय लिम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतले बोलेका थिए।