नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका सत्तारुढ दलहरुले भारतीय नाकाबन्दीको विरोधमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मंसिर १४ गते मानव साङ्लो प्रदर्शन गर्ने भएका छन् ।
सत्तारुढ दलहरुले आफ्ना कार्यकर्ताहरुलाई राष्ट्रिय स्वाधीनता अभियानका नाममा मानव साङ्लोमा सहभागी गराउने भएका हुन्। अभियानले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी दुई महिना भन्दा लामो नाकाबन्दीले नेपाली जनताको बाँच्न पाउने अधिकार प्रभावित हुँदा पनि अन्र्तराष्ट्रिय समुदायले नाकाबन्दी फिर्ता लिन भारतलाई दवाब नदिएकाले मानव साङ्लो प्रदर्शन गर्न लागेको बताएको छ।
अभियानका संयोजक सुवोधराज प्याकुरेलले मंसिर १४ गते माइतीघरदेखि पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयसम्मको सडकको दुवै किनारमा मानव साङ्लो प्रदर्शन गरी ज्ञापनपत्र बुझाउने बताए।
अभियानमा एमाले, एमाओवादी लगायतका सत्तारुढ दलका कार्यकर्ताहरुले संचालन गरेका एनजीओहरु पनि आवद्ध छन् ।