नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले संविधान संशोधन विधेयकलाई छलफलमा ल्याए मधेश आन्दोलन मत्थर हुने दाबी गरेका छन्।
योङ्ग स्टार स्पोर्टस क्लबले शनिबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेसका महामन्त्री सिंहले संविधान संशोधन विधेयकमा मधेशवादी दलहरुको माग बमोजिम समानुपातिक/समावेशी प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख गरिएकाले विधेयकमाथि छलफल सुरु गरे मधेश आन्दोलन मत्थर हुने दाबी गरे।
उनले मधेशवादी दलहरुका सुझाव अनुसार विधेयक पारित गरिनुपर्ने भन्दै त्यसो हुन सके सीमांकनको विषयमा सहमति खोज्न सकिने बताए। उनले सीमांकन हेरफेरको विषयमा छलफलका लागि काँग्रेस तयार रहेको बताए।
काँग्रेसका महामन्त्री सिंहले भारतको नाकाबन्दी अन्त्यका लागि सरकारले प्रभावकारी रुपमा कुटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाए। उनले नाकाबन्दीका कारण इन्धनको अभाव भइ आम जनताको चुलो नै नबल्ने स्थिति हुँदा पनि सरकारले परिणाम आउने गरी कुटनीतिक पहल नगरेको भन्दै भाषणबाजी गर्नतिर भन्दा नाकाबन्दी अन्त्य गर्नतिर ध्यान केन्द्रीत गर्न सरकारका मन्त्रीहरुलाई सुझाव दिए। कार्यक्रममा प्रथम वीर गणेशमान सिंह शत्वार्षिकी राष्ट्रव्यापी महिला/पुरुष खुल्ला बक्सिङ्ग प्रतियोगीताका विजेता क्लबहरुलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।