नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामि फागुनमा हुने पार्टीको तेह्रांै महाधिवेशनमा सभापति पदका लागि सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई समर्थन गर्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लव नेपाल तनहुँ शाखाले शनिबार दमौलीमा आयोजना गरेको साक्षात्कारमा उनले आफूले लामो समय पार्टीमा रही धेरै त्याग गरेको र पार्टी कार्यकर्ता र शुभेच्छुकको धारणा रहेकोले दुई नेताले आफूलाई समर्थन गर्नु पर्ने तर्क गरे। उनले भने,‘सुशीलजी सभापति र प्रधानमन्त्री दुबै भइसक्नु भयो, अब उहाँले लोभ गर्नु हुन्न। शेरबहादुरजी तीन/तीन पटक प्रधानमन्त्री भइइसक्नु भयो। त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो।’
पौडेलले पार्टीलाई अरु संगठित जुझारु र समयसापेक्ष बनाउन पनि पार्टी सभापतिमा आफ्नो उम्मेद्वारी आवश्यकता रहेको दावी गरे। तीन शीर्ष नेताहरुलेअब सल्लाहाकार बसेर यूवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उनले भने,‘ त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनु पर्छ। त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ।’
पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेशी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने दावी गर्दै केपी ओलीको सरकार मुलुकको समस्या समाधान तर्फभन्दा समस्या बढाउने तर्फ उन्मुख भएको आरोप लगाए।