प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेस काउन्सिल नेपालले आज भेट गरी पत्रकार आचारसंहिता उल्लङ्घनको प्रवृत्ति बढ्दै गएकामा ध्यानाकर्षण गराएको छ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिँदै सीमित स्रोत तथा साधानका कारण नियम र अनुगमन गर्न कठिनाइ भएकाले बजेटको व्यवस्थापन गर्न माग गरेको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको वर्तमान अवस्थामा तराईका केही सञ्चार माध्यमले झुठा कुरा, अफवाह फैलाइएकाले यस्ता कुरामा काउन्सिलले निगरानी तथा पत्रकार आचारसंहिता कार्यान्वयन गराउनुपर्ने बताए।
उनले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै मुलुकमा सञ्चारमाध्यमलाई जिम्मेवार बनाउन प्रेस काउन्सिललाई बलियो बनाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
उक्त कार्यक्रममा काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टलगायत सहभागी थिए। रासस